कुलमानले २२ प्रतिशत रहेको वितरणतर्फको विद्युत चुहावट ७.९ प्रतिशतमा घटाए

सबैभन्दा बढी विद्युत् चाेरी मधेस प्रदेशमा


५ माघ २०७९, बिहीबार
Transmission Line Kulman1632134522
फाइल फोटो

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९÷८० को पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत् चुहावटलाई घटाएर ७ दशमलव ४९ प्रतिशतमा झारेको छ ।

नियमित विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएका अभियानबाट प्राधिकरणले गएको वर्षको मंसिरसम्मको वितरणतर्फको सञ्चित चुहावटको तुलनामा यस वर्ष १ दशमलव ७४ प्रतिशत विन्दुले घटाइएको छ । गएको वर्ष मंसिरसम्मको वितरणतर्फको विद्युत् चुहावट ९ दशमलव २३ प्रतिशत थियो । गएको आर्थिक वर्ष २०७८÷७९ मा वितरणतर्फको समग्र विद्युत् चुहावट १० दशमलव ८६ प्रतिशत थियो ।

चालु आवको मंसिरसम्ममा वितरण प्रणालीमा चार अर्ब १४ करोड ७५ लाख युनिट विद्युत् प्राप्त भएकोमा तीन अर्ब ८३ करोड ६७ लाख युनिट विद्युत् बिक्री भएको छ । ३१ करोड सात लाख ७९ हजार युनिट विद्युत् चुहावट भएको छ ।
मंसिरसम्म प्रसारण लाइनतर्फको चुहावट ४ दशमलव ५६ प्रतिशत छ । प्रसारण र वितरणतर्फ गरी मंसिरसम्ममा समग्र प्रणालीको विद्युत् चुहावट १२ दशमलव ०५ प्रतिशत छ । गएको असारसम्ममा समग्र प्रणालीको विद्युत् चुहावट १५ दशमलव ३८ प्रतिशत थियो ।

प्रणालीमा रहेको विद्युत् चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ । प्राधिकरणले चालु आवमा समग्र प्रणालीको विद्युत् चुहावटलाई १४ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई ८ दशमलव ५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले झण्डै सात वर्षअघि वितरणतर्फको चुहावट झण्डै २२ प्रतिशत रहेकोमा अहिले घटाएर ७ दशमलव ४९ प्रतिशतमा झार्न सफल हुनु ठूलो उपलब्धि भएको बताएका छन् । प्राविधिक र गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई अझै सशक्त र प्रभावकारी बनाएर चुहावटलाई लक्ष्यभन्दा अझै कम बनाउने गरी सम्पूर्ण टिम परिचालन गरिएको कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे ।

‘यस अवधिमा नयाँ सबस्टेशन निर्माण सम्पन्न भएको, सञ्चालमा रहेका सबस्टेशनको स्तरोन्नति गरिएको, औद्योगिक क्षेत्रमा विद्युत् खपत बढेको, मिटर रिडिङलाई प्रभावकारी बनाउँदा ग्राहककोमा सञ्चित रहेको युनिट बिलिङ हुँदा चुहावट घटेको हो’, घिसिङले भने, ‘हुकिङ लगायतबाट हुने विद्युत् चोरी नियन्त्रणका लागि नियमित अनुगमन तथा कारबाही, ओभरलोड भएका सबस्टेशन र फिडर लाइनहरूको सुदृढीकरण तथा नयाँ सबस्टेशनको निर्माण, कन्डक्टर, ट्रान्सफर्मर फेर्ने लगायतका काममा गरिएको ठूलो लगानीको नतिजा हो ।’ जाडोमा पहाडी र गर्मीमा तराई क्षेत्रमा प्राविधिक चुहावट केही बढ्न सक्ने उल्लेख गर्दै घिसिङले यसलाई ध्यान दिँदै चुहावटलाई वाञ्छित सीमाभन्दा तल झार्ने गरी काम भइरहेको बताए ।

सबस्टेशनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्री फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्ने लगायतका कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको हो । गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर बाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रूपमा चलाइएको छ ।

सबैभन्दा बढी विद्युत् चुहावट मधेस प्रदेशमा

प्राधिकरणका सात वटा प्रादेशिक कार्यालय र दुई वटा प्रदेश डिभिजन कार्यालय मातहतका वितरण केन्द्रहरूमध्ये सबैभन्दा बढी विद्युत् चुहावट मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरको रहेको छ । प्रादेशिक कार्यालय जनकपुर मातहतका २३ वटा वितरण केन्द्रहरूको मङ्सिरसम्ममा समग्र विद्युत् चुहावट १२ दशमलव ८० प्रतिशत छ । अघिल्लो वर्ष यही अवधिमा १२ दशमलव ९७ प्रतिशत थियो । सर्लाहीको मलङ्गवा वितरण केन्द्रको सबैभन्दा बढी ४४ दशमलव ८३ प्रतिशत विद्युत् चुहावट रहेको छ । गएको वर्ष मलङ्गवा वितरण केन्द्रको विद्युत् चुहावट ४३ दशमलव ८२ प्रतिशत थियो ।

रौतहटको मौलापुर वितरण केन्द्रको विद्युत् चुहावट ४० दशमलव ५५ प्रतिशत रहेको थियो । गएको वर्ष त्यस केन्द्रको चुहावट ७ दशमलव २२ प्रतिशत थियो । बाराको सिम्रौनगढ वितरण केन्द्रको विद्युत् चुहावट ३७ दशमलव ८२ प्रतिशत छ । गएको वर्ष त्यस केन्द्रको चुहावट ३९ दशमलव ८० प्रतिशत थियो । महोत्तरीको जलेश्वर वितरण केन्द्रको चुहावट गएको वर्ष ३७ दशमलव ६१ प्रतिशत रहेकोमा यस वर्ष ३४ दशमलव ५१ प्रतिशत रहेको छ ।

प्रदेश नम्बर १ प्रादेशिक कार्यालय विराटनगर मातहतका २४ वटा वितरण केन्द्रको मङ्सिरसम्मको समग्र विद्युत् चुहावट ७ दशमलव ४२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यही अवधिमा चुहावट ९ दशमलव ९४ प्रतिशत थियो । प्रादेशिक कार्यालयअन्तर्गत सबैभन्दा बढी विद्युत् चुहावट मोरङको रङ्गेली वितरण केन्द्रको छ । यस केन्द्रको विद्युत् चुहावट २० दशमलव ५२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष १५ दशमलव ६० प्रतिशत थियो ।

बाग्मती प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय हेटौँडा मातहतका छ वटा वितरण केन्द्रको अघिल्लो वर्षको मङ्सिरसम्ममा ४ प्रतिशत रहेको समग्र विद्युत् चुहावट यस वर्ष यही अवधिमा ४ दशमलव ५३ प्रतिशत रहेको छ । डिभिजन कार्यालयअन्तर्गत सबैभन्दा बढी मकवानपुरको पालुङ वितरण केन्द्रको २४ दशमलव ६४ प्रतिशत विद्युत् चुहावट रहेको छ । गएको त्यस केन्द्रको ३० दशमलव १४ प्रतिशत चुहावट थियो ।

बाग्मती प्रदेश प्रादेशिक कार्यालय काठमाण्डौ मातहतका २० वटा वितरण केन्द्रको समग्र विद्युत् चुहावट ५ दशमलव ३३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ७ दशमलव ४७ प्रतिशत थियो । प्रादेशिक कार्यालय काठमाण्डौ मातहत सिन्धुपाल्चोक वितरण केन्द्रको सबैभन्दा बढी २१ दशमलव ३७ प्रतिशत चुहावट रहेको छ । अघिल्लो वर्ष त्यस केन्द्रको ३१ दशमलव ९३ प्रतिशत चुहावट थियो ।

गण्डकी प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय पोखरा मातहतका १२ वटा वितरण केन्द्रको गएको वर्षको मङ्सिरसम्मको समग्र विद्युत् चुहावट ७ दशमलव ९१ प्रतिशत रहेकोमा यस वर्ष ६ दशमलव ४३ प्रतिशत रहेको छ । कार्यालयअन्तर्गत सबैभन्दा बढी चुहावट म्याग्दीको तातोपानी वितरण केन्द्रको छ । केन्द्रको चुहावट अघिल्लो वर्ष ५ दशमलव ७१ प्रतिशत रहेकोमा यस वर्ष बढेर ४१ दशमलव ७८ प्रतिशत पुगेको छ ।

लुम्बिनी प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय बुटवल मातहतका ११ वटा वितरण केन्द्रको समग्र विद्युत् चुहावट ६ दशमलव ०२ प्रतिशत रहेको छ । गएको वर्ष ९ दशमलव ४८ प्रतिशत थियो । कार्यालयअन्तर्गत सबैभन्दा बढी चुहावट गुल्मी वितरण केन्द्रको १९ दशमलव ७९ प्रतिशत रहेको छ । गएको वर्ष केन्द्रको चुहावट १९ दशमलव ९९ प्रतिशत थियो ।

लुम्बिनी प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय नेपालगञ्ज मातहतका नौ वटा वितरण केन्द्रको गएको वर्षको मङ्सिरसम्ममा ७ दशमलव ८० प्रतिशत रहेकोमा यस वर्ष ३ दशमलव ९७ प्रतिशत रहेको छ । कार्यालयअन्तर्गत सबैभन्दा बढी विद्युत् चुहावट रोल्पा वितरण केन्द्रको १४ दशमलव ९० प्रतिशत रहेको छ । अघिल्लो वर्ष त्यस केन्द्रको चुहावट १९ दशमलव २९ प्रतिशत थियो ।

कर्णाली प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय सुर्खेत मातहतका सात वटा वितरण केन्द्रको समग्र विद्युत् चुहावट १० दशमलव ५८ प्रतिशत रहेको छ । गएको वर्ष १३ दशमलव ३२ प्रतिशत थियो । कार्यालयअन्तर्गत सबैभन्दा बढी चुहावट रुकुम पश्चिम वितरण केन्द्रको रहेको छ । केन्द्रको चुहावट गएको वर्ष २७ दशमलव १३ प्रतिशत रहेकोमा यस वर्ष बढेर ३६ दशमलव ६५ प्रतिशत पुगेको छ ।

सुदूरपश्चिम प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय अत्तरिया मातहत १२ वटा वितरण केन्द्रको मङ्सिरसम्मको समग्र विद्युत् चुहावट ५ दशमलव ९८ प्रतिशत रहेको छ । गएको वर्षको यही अवधिमा चुहावट ५ दशमलव ७६ प्रतिशत थियो । कार्यालयअन्तर्गत सबैभन्दा बढी चुहावट बझाङ वितरण केन्द्रको रहेको छ । गएको वर्ष १९ दशमलव ७७ प्रतिशत रहेको केन्द्रको चुहावट यस वर्ष बढेर २१ दशमलव ९१ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७