व्यासमा हलगोरु पाल्ने किसानलाई १० हजार अनुदान


६ माघ २०७९, शुक्रबार
goru
फाइल फोटो

तनहुँ । जिल्लाको व्यास नगरपालिका–१ नं वडा कार्यालयले हलगोरु पाल्ने कृषकलाई अनुदान दिने भएको छ । वडा कार्यालयले हलगोरु पाल्ने कृषकलाई रु दश हजारका दरले अनुदान रकम प्रदान गर्न लागेको हो ।

वडाभित्र हलगोरु पाल्ने किसानको तथ्याङक सङ्कलन गर्ने क्रममा १८ किसानले आवेदन दिएको कार्यवाहक वडाध्यक्ष मणिजङ्ग बस्नेतले जानकारी दिए । हलगोरु पाल्ने किसानलाई स्वतः उक्त रकम अनुदान प्रदान गरिने उनले बताए । हाते ट्रयाक्टर खरिद गर्न नसक्ने किसानलाई मध्यनजर राख्दै गोरु पाल्ने किसानलाई प्राथमिकतामा राखेको उनले बताए ।

कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएसँगै तथ्याङ्क सङ्कलन गरी अनुदानको प्रक्रियामा रहेको सो वडा कार्यालयले जनाएको छ । अनुदान कार्यक्रमका लागि कूल रु चार लाख बजेट विनियोजन भएको छ । उनले भने, ‘किसानको माग संख्या धेरै र बजेट कम भएका कारण न्यून किसिमका किसानलाई प्राथमिकतामा राखेर छनोट गरी अनुदानको व्यवस्था मिलाइने छ ।’

बाख्रा ६४, बङ्गुरमा ३२, भैँसी १५, गाई सात, कुखुरा नौ र तरकारीमा तीन किसानले आवेदन दिइसकेका छन् । गोरु पाल्ने किसानबाहेक अन्यमा न्यून आय भएका र अनुदान नदिई नहुने अवस्थाका किसानलाई अनुदान प्रदान गर्ने योजना रहेको छ ।

वडा कार्यालयले नियम बनाएर अनुदान वितरण गर्ने सोच बनाएको छ । बजेट थोरै र माग संख्या बढी भएका कारण न्यूनस्तरका किसानलाई प्रोत्साहन गर्न अनुदान दिइने वडा सचिव मञ्जु कँडेलले बताइन् । गोरुले जोत्ने परम्परा लोप हुने अवस्थामा पुगेकाले त्यसको संरक्षण गर्न र किसानलाई टिकाइ राख्न गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्न लागेको उनले जानकारी दिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७