भारतले घटायो नेपाललाई दिने अनुदान सहायता


१८ माघ २०७९, बुधबार
india budget

काठमाडौं । भारत सरकारले नेपाललाई दिने अनुदान सहायता रकम घटाएको छ । आज (बुधबार) भारतीय वित्तमन्त्री निर्मला सीतारमणले पेस गरेको सन् २०२३-२४ को बजेटमा नेपाललाई पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ (आठ अर्ब ८० करोड नेपाली रुपैयाँ) सहयोग गर्ने उल्लेख छ ।

भारत सरकारले गत वर्ष नेपाललाई सात अर्ब ५० करोड भारु (१२ अर्ब नेपाली रुपैयाँ) सहयोग गर्ने घोषणा गरेको थियो । तर, बजेटमा घोषणा भएअनुसारको सहयोग नभएको देखिएको छ ।

गत वर्ष चार अर्ब २५ करोड भारु (६ अर्ब ८० करोड नेपाली रुपैयाँ) मात्र नेपाललाई सहयोग गरिएको भारतीय बजेटमा उल्लेख छ । भारत सरकारले दक्षिण एसियामा नेपालसहित भुटान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र माल्दिभ्सलाई सहयोग गर्छ । भारतले दक्षिण पूर्वी एसिया र अफ्रिकी देशहरूलाई पनि सहयोग गर्ने गर्छ ।

आउँदो वर्ष भारत सरकारले भुटानलाई सहयोगका लागि २४ अर्ब भारु छुट्ट्याएको छ । भारतले छिमेकी तथा मित्रदेशहरूका लागि ५४ अर्ब भारु सहयोग गर्ने घोषणा नयाँ बजेटमार्फत गरेको छ । भारतले विगतदेखि नै सबैभन्दा बढी सहयोग भुटानलाई गर्ने गरेको छ ।

नेपाललाई यसरी दिने भनिएको सहयोग भने बजेटरी माध्यमबाट आउने गर्दैन । भारतीय दूतावासले बर्षेनी स्वास्थ्य चौकीलाई दिने एम्बुलेन्स तथा विद्यालय भवन बनाउनमा सो रकम खर्च गर्ने गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७