शीर्ष स्थानको आर्सनल एभरटनसँग स्तब्ध


२२ माघ २०७९, आईतवार
arsenal

लन्डन । प्रिमियर लिगमा शीर्षस्थानको आर्सनललाई रेलिगेसन खतरामा रहेको एभरटनले शनिबार गुडिसन पार्कमा १–० ले स्तब्ध बनाएको छ । यस सिजनको लिगमा आर्सनलको यो दोस्रो हार हो । पछिल्लो ११ खेलमा एउटै जित हात पार्न नसकेको एभरटनलाई नयाँ व्यवस्थापकको रूपमा आएपछि सन डाइसले पहिलो खेलमै विजय दिलाए ।

सन् २००४ पछि पहिलो लिग उपाधि जित्ने आसमा रहेको आर्सनल अहिले पनि ५ अंकले अगाडि छ । तर, म्यानचेस्टर सिटीले आइतबार टोटेनहमलाई पराजित गरेमा यो दुरी २ अंकमा छोटिने छ । आफ्नो गृह मैदानमा एभरटनले पछिल्ला ४ खेल हारेको थियो । सन् १९५८ यता एभरटन पहिलो पटक यति कमजोर स्थितिमा पुगेको थियो ।

जसका कारण फ्रान्क लाम्पार्डले एभरटनबाट म्यानेजर पद गुमाउन पुगेका थिए भने उनको स्थानमा आएका डाइसले पहिलो खेलमै जादुगरी प्रदर्शन देखाएका हुन् । क्लबका समर्थकको चर्को विरोधपछि एभरटनका बोर्ड सदस्यहरू आफ्नै टोलीको खेल मैदान आएर हेर्न सकेका छैनन् । अंकतालिकामा पुछारबाट दोस्रो स्थानमा भए पनि जनवरी ट्रान्सफर विन्डो सदुपयोग नगर्ने एभरटन एक्लो टोली थियो ।

तर, घरेलु टोलीले डाइसलाई पर्याप्त प्रतिभा रहेको देखाएको थियो । जेम्स तार्कवस्कीले ६० औं मिनेटमा ड्वाइट म्याकनेलको कर्नरबाट आएको बलमा हेड गोल गरे । विजयपछि एभरटन दुई स्थान उक्लँदै १७ औं स्थानमा आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७