सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, नाउपाको अडान कायमै


२६ माघ २०७९, बिहीबार
rajendra rawal e1672464705380

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज (बिहीबार) बस्दै छ । आजको बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंहरावलले विश्वासको मत लिने छन् ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । विश्वासको मत लिने आज अन्तिम दिन हो । रावल गत पुस २७ गते मुख्यमन्त्री बनेका थिए । बुधबार तोकिएको प्रदेशसभा बैठक स्थगित गरी आज दिउँसो १ बजेका लागि बोलाइएको छ । हिजो तोकिएको बैठकमा मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने तयारी थियो । रावलले विश्वासको मत नपाउने देखिएपछि अन्य दलसँग छलफलका लागि बैठक सारिएको हो ।

सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने अडान कायम राखे पछि हिजो ११ र १ बजे बोलाइएको प्रदेश सभा बैठक अन्तिम अवस्थामा आएर स्थगित हुन पुगेको थियो । ५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीसहित नागरिक उन्मुक्तिको समर्थन रावल मुख्यमन्त्री नियुक्त भएका थिए । तर विश्वासको मत लिने बेला भने नागरिक उन्मुक्तिले मत दिन आनाकानी गरे पछि रावल नेतृत्वको सरकार सङ्कटमा परेको छ ।

सो पार्टीका संस्थापक रेशमलाल चौधरीलाई रिहाइ नगरेको तर अर्का सांसद अरुण चौधरीलाई पक्राउ गरे पछि सत्तारुढ दलसँग नागरिक उन्मुक्ति आक्रोशित हुँदै आएको छ । बन्दीहरूको रिहाइ, झुटा मुद्दा फिर्तालगायतका माग सम्बोधन हुने विश्वासिलो आधार नभएकाले मुख्यमन्त्री रावललाई विश्वासको मत दिन नसकिने नागरिक उन्मुक्तिको भनाई छ ।

नागरिक उन्मुक्तिको प्रदेशमा ७ जना सांसद रहेका छन् । नागरिक उन्मुक्तिले मत नदिएमा रावल नेतृत्वको सरकार बाहिरिने छ भने प्रदेश संसद् सचिवालयले नयाँ मुख्यमन्त्री चयनका लागि कारबाही अघि बढाउने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७