टर्की भूकम्प : ज्यान गुमाउनेको संख्या १२ हजार नाघ्यो


२६ माघ २०७९, बिहीबार
Turkey earthquake 1 AcAt8qH7ri

काठमाडौं । टर्कीकोे दक्षिणपूर्वी र छिमेकी सिरियाको उत्तरी क्षेत्रलाई केन्द्र बनाएर सोमबार गएको भूकम्पमा मृत्यु हुनेको संख्या १२ हजार नाघेको छ ।

भूकम्पमा परेर घाइते हुनेहरूको संख्या टर्कीमा मात्रै ४० हजारभन्दा बढी पुगेको बताइएको छ । प्रतिकूल मौसमका कारण खोज तथा उद्धार कार्य प्रभावित बन्दा भग्नावशेषमा फसेकाहरूलाई जीवितै उद्धारको सम्भावना कम हँुदै गएको छ । उद्धारकर्मीहरू भग्नावशेषमा पुरिएकाहरूको खोजीमा जुटेका छन् ।

करिब ६ हजार भवन भत्केकाले मृतकको संख्या अझै बढ्न सक्ने उद्धारकर्मीले बताएका छन् । उद्धार तथा राहतको अनुगमन एवं समन्वय गरिरहेका संयुक्त राष्ट्रसंघका अधिकारीहरूले २० हजार मानिस हताहत भएको हुन सक्ने अनुमान गरेका छन् ।

अन्तर्राष्ट्रिय समुदायले टर्की र सिरियामा राहत सामग्रीसहित उद्धारकर्मी परिचालन गरेको छ । युरोपेली संघ, रुसी महासंघ, इजरायल, चीन, भारत, पाकिस्तान, ग्रिस, जर्मनी, लेबनान, दक्षिण कोरिया, जापान, अस्ट्रेलियाले पनि आफ्नो सामथ्र्यअनुसार आर्थिक तथा भौतिक सहायता उपलव्ध गराएका छन् । नेपालले पनि आवश्यक सामग्रीसहित चिकित्सकको टोली पठाउने तयारी गरेको छ ।

–अत्यधिक चिसोका बीच राहत र उद्धारकर्मीहरुले भग्नावशेषमा फसेका मानिसहरुको खोजी तीव्र रुपमा गरिरहेका छन् । यसैबीच भूकम्पपछि सडकमा बस्न बाध्य मानिसलाई चिसो खेप्नुपर्ने चुनौती छ ।

–टर्कीका केही सहरहरूमा भग्नावशेषमा फसेका मानिसहरूलाई उद्धार गर्न सर्वसाधारण नागरिकहरूले पनि उद्धारकर्ताहरूलाई सहयोग गरिरहेका छन् ।
–टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले भूकम्पबाट सबैभन्दा बढी प्रभावित १० प्रान्तमा तीन महिनाको आपतकाल घोषणा गरेका छन् ।

–भारत, अमेरिका, इजरायललगायत दर्जनौं देशले टर्की र सिरियामा राहत सामग्री पठाइरहेका छन् भने विज्ञको टोली उद्धार कार्यमा सहयोग गरिरहेका छन् । नेपालले पनि टर्कीमा मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने भएको छ ।

–टर्कीको गाजिएनटेपमा सोमबार बिहान ७.८ म्याग्निच्युडको भूकम्प गएको हो । त्यसको केही मिनेटपछि मध्य टर्कीमा ७.५ म्याग्निच्युडको अर्को भूकम्प गयो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७