रविन्द्र मिश्रप्रति समीक्षा बास्कोटाको कटाक्ष : हारिसकेको मान्छेलाई फेरि किन हराउनु ?


२७ माघ २०७९, शुक्रबार
samikchya baskota mPGNg4H5fG

काठमाडौँ । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले आफ्नो पार्टीलाई राप्रपाकरण गर्न खोज्नेबाट बचाएर महाधिवेशन गर्न सफल भएको बताएकी छन् ।

आज (शुक्रबार) पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष बास्कोटाले पार्टीका पूर्व अध्यक्ष एवम् राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रप्रति लक्षित गर्दै पार्टी नै सिध्याएर राप्रपाकरण गर्न खोजे पनि आफू लगायतका नेताहरूले पार्टी बचाउँदै चुनावमा प्रतिस्पर्धा गरेर देखाएको बताइन् । उनले विवेकशील साझा पार्टीका नेताहरू अहिले धेरैजसो दलमा रहेको भन्दै आफ्नो पार्टीले नेताहरू उत्पादन गरिरहेको बताइन् ।

अध्यक्ष बाँस्कोटाले पार्टीमा पूर्व अध्यक्षलाई गाली गर्ने आवाज उठेको भए पनि महाधिवेशन गर्नु नै रविन्द्र मिश्रका लागि गतिलो झापड भएको बताएकी छन् ।

उनले भनिन्, ‘यो मेरो ६ महिनाको सर्ट टम गोल हो । किनभने पार्टी नै सकेर राप्रपाकरण गर्न खोजिएको थियो । तर पार्टीको अस्तित्व छ भनेर निर्वाचन आयोगमा हामी दर्ता भएर चुनावमा गयौँ । अहिले विवेकशील साझाका नेताहरू कांग्रेस, कम्युनिस्ट, रास्वपा, राप्रपा सबै दलमा हुनुहुन्छ । यो भनेको विवेकशील साझा विद्यार्थी उत्पादन गर्ने जस्तै नेताहरू उत्पादन गर्ने फ्याक्ट्री रहेछ । कैयौँले पूर्व अध्यक्षलाई गाली गरौँ भने तर केही गर्नु पर्दैन, यो महाधिवेशन नै उहाँका लागि सबैभन्दा ठूलो झापड हो । महाधिवेशनबाट उठेर जब विवेकशील साझाले वैकल्पिक साझा राजनीतिक स्थापित गर्छ, त्यो सबैभन्दा ठूलो झापड हो, गाली गर्नैपर्दैन, हारिसकेको मान्छेलाई हामीले फेरि किन हराउन जरुरी छ ?’

अध्यक्ष बास्कोटाले विवेकशील साझा पार्टी आफैंले बनाउने उद्घोष गर्दै कुनै पनि सेलिब्रेटी पार्टी बनाउन आउनु नपर्ने बताएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७