यातायात मजदुरको बन्दले जनजीवन प्रभावित


२ फाल्गुन २०७९, मंगलवार
kathmandu 11

काठमाडौं । यातायात मजदुरको आन्दोलनका कारण आज (मंगलबार) काठमाडौं उपत्यकामा सार्वजनिक यातायातका साधन ठप्प भएका छन् । फाट्टफुट्ट मात्र सार्वजनिक सवारी चल्दा जनजीवन प्रभावित भएको छ । नेपाल यातायात मजदुर संघले सोमबार एक विज्ञप्ति जारी गरेर मंगलबारदेखि उपत्यकाको सवारीसाधन ठप्प पार्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार मंगलबार बिहानैबाट काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी साधन नचल्दा यात्रु मारमा परेका छन् । बिहान निजी सवारी साधन, स्कूल बस र उपत्यका बाहिर जाने लामो दूरीका सवारी साधन भने सञ्चालन भएका छन् । अहिले चोक–चोकमा बाक्लो संख्यामा प्रहरी खटिएका छन् ।

विज्ञप्तिमा नयाँ बसपार्कका ठेकेदार कम्पनी लोत्से बहुउदेश्यीय प्रालिका महाप्रवन्धक, कर्मचारीलगायत ३० जना अपरिचित व्यक्तिले यातायात मजदुरलाई आक्रमण गरेको बताउँदै यातायात मजदुर आफ्नो हक हितका लागि प्रदर्शनमा उत्रनु परेको उल्लेख छ ।

मंगलबार बिहान ८ बजे भौतिक यातायात तथा पूर्वाधार मन्त्रालयमा आन्दोलनरत पक्षसँग वार्ता हुने तय भएको यातायात व्यवस्था विभागले जनाएको छ । सोमबार बालाजु बसपार्क एरियामा भइरहेको ट्राफिक नियमविरुद्ध मजदुरहरू आन्दोलनमा उत्रिएका थिए। प्रदर्शनका क्रममा उनीहरूले सडकमा राखिएका डिभाइडर पनि जलाए । सार्वजनिक सम्पत्तिमा तोडफोड गरेका छन् । काठमाडौं महानगरको अनुरोधमा ट्राफिक प्रहरीले बसपार्क एरियामा गाडी पार्क गर्न निषेध गरेको थियो ।

बालाजु, माछापोखरीलगायतका ठाउमा पार्किङ गरेर यात्रु चढाउँदै आएका यातायात मजदुरले ट्राफिकले उक्त एरियामा पार्किङ निषेध गरी बसपार्कमा मात्रै पार्किङ गर्नुपर्ने नियम ल्याएको थियो । यो नियमका विरुद्ध यातायात व्यवसायी प्रदशर्नमा उत्रिएका हुन्। उनीहरूले सडकमै गाडी तेस्र्याएका थिए । प्रदर्शनका क्रममा आन्दोलनरत यातायात मजदुरले प्रहरीका २ वटा गाडी जलाएका छन् भने ढुंगामुढा समेत गरेका छन् ।

यता आज (मंगलबार) आन्दोलनरत यातायात व्यवसायी तथा यातायात मजदुर र सरकारबीच आज हुँदैछ । सरकारले यातायात मजदुरलाई वार्ताका लागि बोलाएको हो । बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आह्वान गरिएको यातायात विभागका महानिर्देशक तुल्सी गौतमले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७