नेताहरुलाई सांसद केसीको प्रश्न : भारतको कर्मचारी आउँदा किन सबै लम्पसार परेको ?

‘राष्ट्रपति निर्वाचनको मुखमा स्वार्थकेन्द्रित विदेशी हस्तक्षेप बढ्यो’


३ फाल्गुन २०७९, बुधबार
chitra b kc

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नेपालका राष्ट्र प्रमुखदेखि कार्यकारी प्रमुख र दलका नेताहरु भारतीय विदेश सचिवको अगाडि लम्पसार परेको भन्दै टिप्पणी गरेका छन् ।

आज (बुधबार) को प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता बिर्सेर उनीहरु भारतको एक साधारण कर्मचारीको अगाडि लम्पसार परेको बताए ।

‘नेपालको राष्ट्र प्रमुख, सरकार प्रमुखलगायत विभिन्न तहमा भेटघाट भयो । राष्ट्र सानो ठूलो हुन सक्छ । नेपालको तुलनामा भारत सबै विषयमा ठूलो छ । तर, सार्वभौमसत्ता र भौगोलिक अखण्डाले राष्ट्र सानो ठूलो हुँदैन’, उनले भने, ‘नेपालबाट पूर्व प्रधानमन्त्रीहरु अथवा जिम्मेवार मन्त्रीहरु जाँदा भारतीय शासकहरुलाई भेट्नै सक्दैनन् । निराश भएर फर्किनु पर्छ । छिमेकका प्रमुखहरु आउँदा विदेशीको अगाडि किन लम्पसार परेको । राष्ट्रिय स्वभिमानबारेमा अलिकति पनि लाज लाग्दैन ?’

सांसद केसीले राष्ट्रपतिको चुनाव नजिकिएको अवस्थामा स्वार्थकेन्द्रित विदेशी हस्तक्षेप पनि बढेको बताए । उनले पहिले अप्रत्यक्ष रूपमा खेल्ने विदेशी शक्तिले अहिले प्रत्यक्ष हस्तक्षेप गर्न थालेको बताए । ‘राष्ट्रपति बनाउन शक्ति राष्ट्रपतिको चुनावमा अप्रत्यक्ष रुपमा हुने गथ्यो । अहिले प्रत्यक्ष रुपमा अनुकूल रुपमा बनाउन खेल खेलिरहेका छन् । हामीलाई लाज लाग्दैन विदेशी शक्ति राष्ट्रहरुको प्रमुख लम्पसार परेर दुनो सोझ्याउने काम गर्दा’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७