सुन आयातमा लगाइएको कोटा सिस्टम हटाउन माग


८ फाल्गुन २०७९, सोमबार
gold
सांकेतिक तस्वीर

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायीहरुले सुन आयातमा लगाइएको कोटा सिस्टम हटाउन माग गरेको छ ।
आज (सोमबार) नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले संयुक्त पत्रकार सम्मेलन गरी सुन आयातमा लगाइएको कोटा सिस्टम हटाउन सरकारको ध्यानाकर्षण गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी बजारलाई नियन्त्रित तरिकाले कोटा सिस्टमबाट चलाइरहेकाले सरकारसँग सुन आयातको कोटा सिस्टम हटाउन माग गरेका हुन् ।

उनले सुन आयातको कोटा सिस्टमका कारण बजारमा सुनको माग बढी भए पनि माग अनुसार बिक्री वितरण गर्न नपाएको बताएका छन् । उनले राज्यको कर दायित्व भुक्तानी गरी र स्वदेशी रोजगार सिर्जना गर्दै पेशा व्यवसाय गर्ने अधिकार स्थापित गर्न र सुनचाँदीको कारोबार गर्न राज्यका तर्फबाट स्पष्ट मापदण्ड बनाइ लागू गर्न र सुनचाँदी व्यवसायको विकास र प्रवर्द्धन हुनेगरी ऐन नियम कार्यविधि निर्माण गर्न सरकारसँग आग्रह गरे ।

महासंघले बजारमा सिजनको समयमा ४० किलोको हाराहारीमा माग आएपनि १० किलो मात्रै सुन आयात भइरहेको जनाएको छ । विधिवत रुपले बैंकबाट आउने सुनबाहेक विदेशबाट आउने नेपालीहरुले बिना भन्सार ५० ग्राम र भन्सार तिरेर १०० ग्राम सुनका गरगहना ल्याउन पाउने सुविधा अनुसार सुन बजारलाई केही धानेको भएपनि अहिले प्रहरीले त्यसरी सुन ल्याउने व्यवसायीहरुलाई पक्राउ गर्ने र अनावश्यक दुःख दिने गरेको आरोप महासंघको छ ।

महासंघले विगत १३ वर्षदेखि लागू हुँदै आएको राष्ट्र बैंकको परिपत्र र एकाधिकार व्यव्स्थाको समीक्ष हुन जरुरी रहेको बताएको छ । नेपाली मौलिक गरगहनाहरु विश्वव्यापीरुपमा माग भइरहेको सम्बन्धमा गरगहना निर्यातका लागि स्थानीय बजारको व्यवस्थापनका लागि र घरघरमा रहने आम उपभोक्ताहरुको सम्पतीका रुपमा रहनका लागि सुनचाँदी गरगहनाको यो पेशा व्यवसायलाई आवश्यक नीति, नियम र ऐन कानून निर्माण गर्न आवश्यक रहेको बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७