आउँदो आवसम्म पाँच लाखको स्वास्थ्य बिमा लागू गर्छाै : मन्त्री गिरी


१५ फाल्गुन २०७९, सोमबार
padam giri
फाइल फोटो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नेपालको स्वास्थ्य क्षेत्रमा इतिहासमै पहिलो पटक युगान्तकारी परिवर्तन गर्ने गरी काम सुरु गरेको बताएका छन् ।

आज (सोमबार) स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू स्वास्थ्य क्षेत्रको परिवर्तन गर्नकै लागि रोजेर स्वास्थ्य मन्त्रालयमा आएको दाबी गर्दै स्वास्थ्यमा भएका फोहोरलाई सफा गर्न आफू आएको बताएका छन् ।

उनले स्वास्थ्य मन्त्रालय आकर्षणको मन्त्रालय भए पनि स्वच्छ मन लिएर मन्त्रालयको नेतृत्व लिने मन्त्रीहरू फर्किदा दाग बोकेर फर्किने गरेको भन्दै स्वास्थ्य क्षेत्रको वास्तविक परिवर्तनका लागि आफू आएको बताए ।

उनले आफ्नो नाममा कसैले ब्ल्याकमेलिङ गरेर अन्य धन्दा गरेको भए सूचना दिन र त्यसलाई आफूले तत्काल कारबाही गर्ने बताए। मन्त्री गिरीले आगामी आर्थिक वर्षसम्ममा कम्तीमा पाँच लाखसम्मको स्वास्थ्य बिमा गर्ने तयारीअनुसार काम भइरहेको बताए ।

उनले अहिलेको स्वास्थ्य बिमाभित्र देशभरका मानिस समेटिन नसक्ने भन्दै सेना, प्रहरी, सबै आममानिस आउने गरी स्वास्थ्य बिमा कार्यक्रम लागू गर्न लागेको बताए । मन्त्री गिरीले जस्तोसुकै दीर्घरोगीहरूको निःशुल्क उपचार गर्ने गरी स्वास्थ्य पूर्वाधार निर्माण हुन जरुरी रहेको बताए । मन्त्री गिरीले अस्पतालका सबै सेवा डिजिटलाइज प्रणालीमा लैजाने दाबी गरे । स्वास्थ्य सेवा दिवसको अवसरमा मन्त्रालयले पाँचजना स्वास्थ्य सेवामा कार्यरत कर्मचारीलाई सम्मान गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७