धराप बन्दै जाजरकोटका सडक


१९ फाल्गुन २०७९, शुक्रबार
jajarkot sadak 1

जाजरकोट । पश्चिम जाजरकोटमा जताततै सडक निर्माण गरिए पनि यातायातका साधन गुड्न भने मुस्किल हुँदै आएको छ । हिउँद याममा समेत यहाँका सडकमा यातायातका साधन सञ्चालन गर्न विद्युतीय धरापझैं हुँदै आएका छन् ।

भेरी करिडोरसँग जोडिएको छेडा–कचाली सडकबाट मोर्क हुँदै जुनिचाँदे र कुशेसम्मका सडक विद्युतीय धरापजस्तै असहज बन्दै आएका छन् । मापदण्डविपरीत जहाँतहीँ डोजरको सहायताले खनिएका सडकमा बर्सेनि पालिकाबाट बजेट विनियोजन गरी माटो कोट्याएर सम्याउनका लागि कमाइखाने भाँडोसमेत हुँदै आएको लुहाद निवासी जुनिचाँदे गाउँपालिकाका रेशमबहादुर खड्काले बताए । पछिल्लो पाँच वर्षको रेकर्ड हेर्दा यस क्षेत्रमा आधा दर्जन सवारी दुर्घटना समेत भइसकेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

निजी सवारीसाधनको बिगबिगी रहेको यहाँका सडकमा गुड्ने सीमित सवारीसाधनले जाजरकोटबाट काठमाडौं गएकोभन्दा बढी भाडा असुल्ने गरेको उनको गुनासो थियोे । चार जना अट्ने गाडीमा आवश्यकताभन्दा बढी यात्रु राखेर भाडा असुल्ने गरेको सर्वसाधारणको आरोप थियो ।

अधिकांश पालिकाले निर्माण गरेका प्रदेशका सडकमा यातायातका साधन गुडाउन सक्ने अवस्था नरहेको नलगाडका लोकेन्द्र केसीले बताए । जताततै सडक खनेको देखिन्छ तर हलुका सवारीसाधन समेत त्यहाँ चल्न मुस्किल रहँदै आएको उनको भनाइ थियोे ।

पश्चिम जाजरकोटमा छेडागाड नगरपालिका, शिवालय गाउँपालिका र जुनिचाँदे गाउँपालिका छन् तर पालिकाको मुकाम जान र आउन नै मुस्किल हुँदै आएको छ । शिवालय गाउँपालिकाको प्रशासकीय केन्द्र जोड्न गरिएको कालोपत्रसमेत लथालिङ्ग भएकोे छ । ठाउँ–ठाउँमा कालोपत्र भत्किएका कारण सडक धरापमा परिणत भएको छ । त्यस्तै छेडागाड नगरपालिका हुँदै जुनिचाँदे गाउँपालिका, कुशे गाउँपालिका पुग्ने सडक काम नलाग्ने अवस्थामा पुगेको र बर्सेनि चुनावी नारा बन्ने यहाँका सडक नाममात्रका बन्दै आएको सवारी चालकको गुनासो छ ।

खरिद गुरुयोजना स्वीकृत नगर्दा सडक निर्माणमा बाधा

अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेका जाजरकोटका केही सडकमा खरिद गुरुयोजना स्वीकृत नहुँदा काममा समस्या हुँदै आएको छ । विसं २०७९ असोज ११ गते अर्थ मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरे पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले खरिद गुरुयोजना स्वीकृत नगर्दा सडकको काम अगाडि बढ्न सकेको छैन । रु एक अर्ब ८४ करोड अर्थ मन्त्रालयले स्वीकृत गरिसकेको प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेतले जानकारी दिए ।

पश्चिम क्षेत्रको छेडा, वडावन, साना खोला, चाँदे र टोप्ला सडकको स्तोन्नति, चैखिला साना खोला जुनी सडक छन् । त्यस्तै पूर्वमा रहेका सडकमा खलङ्गा, बोहरा, इबर, गङ्गटिया र मेलटारी वैकल्पिक राजमार्ग भेरी नगरपालिकाको जाजरकोट, खारा, चारगाँ, ऐरार्नी, गर्छिना, समाइला र जुम्ला जोडने सडकमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले खरिद गुरुयोजना स्वीकृत नगर्दा काम सुरु हुन नसकेको हो । ट्रयाकओपन भएका यी सडकमा स्तरोन्नति नहुँदा विद्युतीय धरापका रुपमा विस्तार हुँदै गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७