राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध चैत १० देखि देशव्यापी अभियान चलाउने

चितवन–२ को उपनिर्वाचनमा जनमोर्चाबाट जनकराज शर्मा उम्मेदवार


३० फाल्गुन २०७९, मंगलवार
chitra bahadur kc

चितवन । राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध चैत १० गतेदेखि देशव्यापी अभियान चलाउने निर्णय गरेको छ । फागुन २७–२८ गते बुटवलमा बसेको जनमोर्चाको राष्ट्रिय परिषदको पहिलो बैठकले चैत १० गतेदेखि १५ गतेसम्म संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको हो । उक्त अभियान अन्तर्गत सभा, कोणसभाहरू गरिने अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिएका छन् ।

यही अभियान अन्तर्गत चैत २४ गते जनआन्दोलन दिवसको उपलक्षमा देशव्यापी रूपमा ‘गणतन्त्रको रक्षा गरौं, प्रतिगमनका विरुद्ध संघर्ष गरौं’ भन्ने मूल नारा अन्तर्गत सभाका कार्यक्रमहरू गरिने छ ।

janakraj sarma 1678757479
जनकराज शर्मा

यस्तै आउँदो वैशाख १० गते हुने चितवन निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनका लागि राष्ट्रिय जनमोर्चाले पार्टीका उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । साथै पार्टीले उक्त निर्वाचनलाई नेपालमा बढ्दो अमेरिकी साम्राज्यवादको प्रभाव र ईशाइकरणका विरुद्ध भण्डाफोर अभियानका रूपमा उपयोग गर्ने निर्णय पनि गरेको छ ।

उपनिर्वाचनको प्रचारप्रसारलाई व्यवस्थित बनाउन महासचिव मनोज भट्टको संयोजकत्वमा २५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको जनाइएको छ । बैठकले गणतन्त्र, राष्ट्रियता तथा जनजीविकाको पक्षमा, सङ्घीयताको विरोधलगायत विभिन्न महत्वपूर्ण विषयमा विशेष प्रस्ताव पारित गरेको पार्टी अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए ।

यस्ता छन् अन्य निर्णयहरू

प्रेस वक्तव्य
राष्ट्रिय जनमोर्चाको राष्ट्रिय परिषदको प्रथम बैठक २०७९ फागुन २७–२८ गतेसम्म बुटवलमा भब्य तथा उत्साहजनक रूपमा सम्पन्न भएको छ । बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न यो विज्ञप्ति जारी गरिएको छ ।

१. दुई दिनसम्म चलेको राष्ट्रिय परिषदको बैठकलाई दुई चरणमा विभाजन गरिएको थियो । प्रथम चरणमा बैठकको उद्घाटन गरिएको थियो भने दोस्रो चरणमा बैठक सञ्चालन गरिएको थियो । प्रथम चरणको उद्घाटन समारोहको अध्यक्षता राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले गर्नु भएको थियो । सहीदहरूप्रति १ मिनेट मौनधारण गरी सुरु भएको बैठकको उद्घाटन तालीको गढगढाहटको बीच पानसमा दीप प्रज्वलित गरेर अध्यक्ष चित्रबहादुर के.सी.ले गर्नु भएको थियो ।

२. विभिन्न भाइचारा पार्टी तथा जनवर्गीय सङ्गठनका प्रमुख तथा प्रतिनिधिहरूले बैठकको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । शुभकामना मन्तव्य दिनु हुनेमा रामप्रकाश पुरी, प्रवक्ता नेपाल कम्युनिस्ट पार्टी(मसाल), राजेश विश्वकर्मा राष्ट्रिय सभा सदस्य तथा अध्यक्ष जातीय समता समाज, अमर थापा केन्द्रीय सल्लाहकार राष्ट्रिय जनमोर्चा तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख, तारा थापा लुम्बिनी प्रदेशसभा सदस्य, लक्ष्मण पुन उपाध्यक्ष अखिल नेपाल युवक संघ, लोकराज भूसाल अध्यक्ष अखिल नेपाल टे«ड युनियन महासङ्घ(अन्टुक), चन्द्रबहादुर के.सी. उपाध्यक्ष अखिल नेपाल किसान महासङ्घ(अप्फा), लक्ष्मी बास्कोटा उपाध्यक्ष अखिल नेपाल महिला सङ्घ, अमरध्वज राना महासचिव अखिल नेपाल जनजाति सम्मेलन, गिरिप्रसाद बुढामगर अध्यक्ष रक्तिम सांस्कृतिक अभियान, दुर्गानाथ खरेल सचिवालय सदस्य अखिल नेपाल बुद्धिजीवि सङ्घ, बद्रे आलम अध्यक्ष तराईमधेस जनवादी मोर्चा, राजेन्द्र पु्डासैनी कोषाध्यक्ष अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला), ढुण्डीराज शर्मा अध्यक्ष अखिल नेपाल उद्योग–व्यापार सङघ, श्यामलाल पोखरेल अध्यक्ष प्रगतिशील पत्रकार सङ्घ लगायत रहनु भएको थियो । सहभागी सबै अतिथि तथा पार्षदहरुलाई केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले मन्तव्यद्वारा स्वागत गर्नु भएको थियो भने उद्घाटन समारोहको सञ्चालन महासचिव मनोज भट्टले गर्नु भएको थियो ।

३. परिषद बैठक सञ्चालनका लागि जनकराज शर्मा, दुर्गा पौडेल र राजाराम चौधरी रहनु भएको तीन सदस्यीय अध्यक्षमण्डल गठन गरिएको थियो ।

४. परिषदको बैठकले अध्यक्ष चित्रबहादुर के.सी.ले प्रस्तुत गर्नुभएको तात्कालिक राजनैतिक प्रस्ताव गम्भीर छलफल पश्चात पारित गरेको छ । तात्कालिक राजनैतिक प्रस्तावमा गणतन्त्र र राष्ट्रियतामाथि देखिएको खतराका विरुद्ध सङ्घर्ष गर्ने क्रममा प्रतिगमनका विरुद्ध आउने सबै शक्तिहरुसँग सहकार्य गर्ने कुरामा जोड दिइएको छ । विश्व तथा स्वयम् नेपालमा देखिएको आर्थिक सङ्कटको परिप्रेक्षमा सङ्घीयता आर्थिक रूपले बोझिलो भएका कारण त्यसको खारेजीका लागि सङ्घर्ष गर्ने कुरामा जोड दिइएको छ । पौष १० गते बनेको समीकरणलाई भत्काएर प्रधानमन्त्रीले राजनैतिक कोर्स सच्चाएकोमा समर्थन गर्दै उहाँलाई धन्यवाद दिनुका साथै माओवादी, काङ्ग्रेसले प्रतिगमनका विरुद्ध सही नीति अपनाएपनि राष्ट्रियताका विरुद्ध जाने गरेका छन् । माओवादी, काङ्गेसले अपनाउने राष्ट्रियताका विरुद्धका नीतिसँग सङ्घर्ष गर्नुपर्ने सम्भावनालाई पनि प्रस्तावले स्वीकार गरेको छ । राष्ट्रियताको सवालमा काङ्ग्रेस माओवादी मधेसवादी तथा एमाले विपक्षमा रहेका छन् । तर एमाले राष्ट्रियताका साथै गणतन्त्रका विरुद्ध पनि रहेको छ । नेपालमा अमेरिकी साम्राज्यवादको प्रभाव बढ्दै गएकोमा त्यसका विरुद्धको सङ्घर्षमा प्रस्तावले जोड दिएको छ ।

५. बैठकले सङ्घर्षका आगामी कार्यक्रमहरू तय गरेको छ । सङ्घीयताका विरुद्ध यही चैत्र १० देखि १५ गतेसम्म देशव्यापी अभियान चलाउने निर्णय गरेको छ । उक्त अभियान अन्तर्गत सभा, कोणसभाहरू गरिने छ । चैत्र २४ गते जनआन्दोलन दिवसको उपलक्षमा देशव्यापी रूपमा “गणतन्त्रको रक्षा गरौँ, प्रतिगमनका विरुद्ध सङ्घर्ष गराँै” भन्ने मूल नारा अन्तर्गत सभाका कार्यक्रमहरू गरिने छ । चैत्र २८ गते काठमाण्डौंमा नेपालमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप र राष्ट्रियताको रक्षा” विषयक अन्तरक्रिया कार्यक्रम गर्ने ठेगान भएको छ ।

६. बैठकले २०८० साल बैशाख र जेष्ठ महिनामा देशव्यापी रूपमा जिल्ला सम्मेलन तथा भेला गर्ने ठेगान गरेको छ । असोज महिनामा देशव्यापी रूपमा एक महिने सदस्यता वितरण अभियान सञ्चालन गर्ने ठेगान भएको छ ।

७. २०८० बैशाख १० गते चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनलाई नेपालमा बढ्दो अमेरिकी साम्राज्यवादको प्रभाव, इशाईकरणका विरुद्ध भण्डाफोर अभियानका रूपमा उपयोग गर्ने निर्णय गरेको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाउने समेत बैठकले निर्णय.गरेको छ । उपनिर्वाचनको प्रचारप्रसारलाई व्यवस्थित बनाउन महासचिव मनोज भट्टको संयोजकत्वमा २५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

८. बौद्ध पुरातात्विक सहर निर्माण योजनाका विषयमा काठमाडौमा सेमिनार कार्यक्रम गर्ने ठेगान भएको छ ।

९. बैठकले गणतन्त्र, राष्ट्रियता तथा जनजीविकाको पक्षमा, सङ्घीयताको विरोध लगायत विभिन्न महत्वपूर्ण विषयमा विशेष प्रस्ताव पारित गरेको छ ।
धन्यवाद ।
२०७९ फागुन २९ गते ।
चित्रबहादुर के.सी.
अध्यक्ष

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७