सरसफाइ र मानव एकताको सन्देश दिंदै तिलोत्तमामा मानव साङ्लो


३० फाल्गुन २०७९, मंगलवार
Manab sanglo Rupandehi scaled

रुपन्देही । बुटवल बेलहिया ६ लेन सडकअन्तर्गत तिलोत्तमा नगरपालिकाको क्षेत्रमा मंगलबार मानव साङ्लो निकालिएको छ । योगिकुटीदेखि कोटिहवासम्म १३ किलोमिटर सडकमा जम्मा भएका सहभागीहरुले एकआपसमा हात जोडेर सरसफाइ र मानव एकताको सन्देश दिन मानव साङलो बनाएका हुन् ।

तिलोत्तमा नगरपालिकामा सञ्चालित समुदायमा आधारित हरियाली प्रवर्द्धन एवं नियमित सरसफाइ अभियानको १००औँ श्रृंखलाको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअनुसार ६ लेन सडकमा मानव साङ्लो निकालिएको हो । तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खाँणले अयिभानमा सबै नगरबासीको साथ समर्थन रहेको सन्देश दिई प्रतिबद्धता जनाउने उद्देश्यले मानव साङ्लो आयोजना गरिएको बताए ।

मानव साङ्लोमा जनप्रतिनिधि, राजनीतिक दलका नेता, शिक्षक, विद्यार्थी, कर्मचारी, विभिन्न संघ–संस्था, क्लब, आमा समूह, खानेपानी, वन, टोल विकास संस्थाहरुले सहभागिता जनाएको अभियान संयोजक सुरेन्द्र श्रीले जानकारी दिए । सहभागीहरुले विभिन्न प्लेकार्ड प्रदर्शन गर्दै आफ्नो फोहोर आफै व्यवस्थापन गर्ने, जथाभावी फोहोर नगर्ने, नगरपालिकाले चलाएका अभियानमा यथेष्ट सहयोग पु¥याउने प्रतिबद्धता जनाएका थिए ।

मंगलबार नै मणिग्राम चोकमा निर्माण गरिएको सरसफाइ स्मारक उद्घाटन समेत गरिएको छ । अभियान १००औँ श्रृंखलामा प्रवेश गरेको स्मरणमा मणिग्राममा सरसफाइ स्मारक निर्माण गरिएको हो । स्मारकमा पुरुष र महिलाले सरसफाइ गरेको प्रतिमा राखेर अभियानमा सबैको सहभागिताको सन्देश प्रवाह गरिएको छ ।

तिलोत्तमामा २०७४ सालको स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधिहरु आएसँगै नियमित सरसफाइ अभियान सुरु भएको हो । अभियानअन्तर्गत हरेक महिनाको १ र १५ गते नगर प्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधिहरुको सहभागितामा नगर स्तरीय सरसफाइ अभियान सञ्चालन गर्ने गरिएको छ । चैत १ गते बुधबार अभियानको १००औं श्रृंखला पूरा हुँदैछ । १००औं श्रृंखला मनाउन फागुन २५ गतेदेखि सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७