सुनकोसीका सबै सडक स्तरोन्नति हुँदै


१ चैत्र २०७९, बुधबार
sindhupalchok helembu
फाइल फोटो

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाभित्रका सबै कच्ची सडक स्तरोन्नति गर्न थालिएको छ । वडा नं १ देखि ७ सम्मका सबै कच्ची सडक मापदण्डअनुसार छ मिटर चौडासहित स्तरोन्नति गर्न थालिएको हो ।

उक्त सडकखण्डमा बाह्र महिनानै यातायातका साधन सञ्चालन हुने गरी स्तरोन्नतिको काम गर्न थालिएको गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिए । उनका अनुसार सडक स्तरोन्नति लागि पालिकाले एक्साभेटर अपरेटर नियुक्त गर्नाका साथै इन्धनको प्रबन्ध गरी काम अगाडि बढाएको छ । सडकका साथै नाला र आसपासका अन्य भौतिक संरचना पनि निर्माण भइरहेका छन् ।

पालिकाभित्रका सडकको वर्गीकरण गरेर सङ्घ, प्रदेश र स्थानीय सरकारले स्तरोन्नति गर्ने अध्यक्ष तिमल्सिनाले बताए । आगामी पाँच वर्षभित्र पालिकाभित्रका सबै सडक स्तरोन्नति गरिसक्ने उनको भनाइ छ । ‘सडक चौडा, नाला निर्माणलगायत काममा के–कति खर्च लाग्छ,सबै जनताका अघि पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्छ’, वडा नं ६ का पूर्ववडाध्यक्ष रामकुमार थापाले भने ।

सडक विस्तार : हिउँदमा धुलो बर्खामा हिलो
सिन्धुपाल्चोकको बलेफी जलविरे ढाडेअन्तर्गत सडक निर्माणका क्रममा हिलो र धुलो अत्यधिक हुँदा स्थानीयवासीले सास्ती भोग्दै आएका छन् । हिलोका कारण दुर्घटना र धुलोका कारण स्वास्थ्यमा असर परिरहेको स्थानीयवासीको भनाइ छ ।

धुलोका कारण घाँटी दुख्ने, रुघाखोकी र सास फेर्न गाह्रो हुने समस्या बढ्दै गएको छ । स्थानीय देवीमाया नेपालले धुलोका कारण स्वास्थ्यमा असर पर्नुका साथै वातावरण समेत प्रदूषित हुँदै गएको बताइन् । ‘हिउँदको समयमा पनि सडक कतै हिलाम्मे र कतै धुलाम्मे छ । सडक आसपास बसोबास गर्ने तथा पैदलयात्री, र मोटरसाइकलमा यात्रा गर्नेलाई निकै सास्ती हुने गरेको छ’, उनले भनिन् ।

स्थानीय भीमबहादुर विकले अत्यधिक धुलोका कारण यात्रा गर्न समस्या भएको बताए । उनले भने, ‘दैनिक यात्रा गर्न समस्या छ, निर्माणकार्य सुस्त गतिमा भइरहेकाले पनि अत्यधिक धुलो भएको हो ।’ यतिबेला सडक विस्तारका साथै वरपर नाली मर्मत तथा भित्ता उठाउने काम भइरहेको छ । निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी अनक कविर जेभी कन्ट्रक्सन प्रालिका प्रतिनिधि गोरेबहादुर तामाङ करिब ९५ प्रतिशत काम सकिएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७