उपाध्यक्ष केदार न्यौपानेसहित दुई जनाले छाडे एकीकृत समाजवादी, राजीनामा स्वीकृत

तेस्रो वरीयताका नेतालाई सोधियो सात दिने स्पष्टीकरण


१४ चैत्र २०७९, मंगलवार
kedar neupane

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष केदारप्रसाद न्यौपानेसहित दुई नेताले पार्टी छाडेका छन् । नेकपा एमालेमै फर्किन लागेको चर्चा चलिरहेका बेला आज (मंगलबार) बसेको समाजवादीको सचिवालयको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।

एक महिना अघिदेखि नै उनले समाजवादी छाड्ने चर्चा गृहजिल्ला मकवानपुरमा चलिरहेको थियो । अध्यक्ष माधव नेपाल समेतको उपस्थितिमा मंगलबार आलोकनगरमा बसेको बैठकले पार्टीका उपाध्यक्ष न्यौपाने र स्थायी कमिटी सदस्य चुडामणि जङ्गलीले दिएको राजीनामा सचिवालयको बैठकले स्वीकृत प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

पछिल्लो समय न्यौपाने एमालेमा फर्कन लागेको संकेत गर्दै एमाले मकवानपुरका नेताहरूले भेटघाटका तस्वीर सार्वजनिक गरिरहेका थिए । एमाले मकवानपुरका सचिव नवीन सिग्देलले यसअघि नै समाजिक सञ्जालमा न्यौपानेसँगका तस्वीरहरु सार्वजनिक गर्दै सम्झनलायक क्षण भनेका थिए ।

तत्कालीन नेकपाको पोलिटब्युरो सदस्य तथा एमालेमा २०४५ सालदेखि पटक पटक केन्द्रीय सदस्यको भूमिका निर्वाह गरेका न्यौपाने एमाले विभाजनसँगै एकीकृत समाजवादीको उपाध्यक्ष बनेका थिए । एमालेमा रहँदा माधव नेपाल पक्षका न्यौपाने भने एकीकृत समाजवादीभित्र एमालेसँग मिल्नुपर्ने लाइनका मुख्य नेता थिए ।

उनका दाइ समेत रहेका माधव नेपालका विश्वासिला पात्र मुकुन्द न्यौपानेले यसअघि एमालेसँग मिल्नुपर्ने विषय पार्टी कमिटी बैठकमै उठाएका थिए । एकीकृत समाजवादीभित्र न्यौपाने दाजुभाइसहित धेरै नेताहरू एमालेसँग मिलेर बलियो कम्युनिस्ट शक्ति निर्माण गर्नुपर्नेमा निरन्तर जोड दिइरहेका छन् ।

नेकपा समाजवादीका तेस्रो वरीयताका नेतालाई सोधियो सात दिने स्पष्टीकरण
नेकपा एकीकृत समाजवादीले तेस्रो वरीयताका नेता मुकुन्द न्यौपानेलाई सात दिने स्पष्टीकरण सोधेको छ । उनले सामाजिक सञ्जालमा पार्टी र नेतृत्वविरुद्ध जथाभावी स्टाटस लेखेको, कार्यकर्ता भड्काएकोलगायतका विषयमा सात दिने स्पष्टीकरण सोध्ने निर्णय भएको जनाइएको छ । उनीमाथि नेकपा एमालेलाई सहयोग गरेको आरोप लाग्दै आएको छ । नेकपा एसको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७