२०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्रै हुने प्रक्षेपण


२१ चैत्र २०७९, मंगलवार
adb

काठमाडौँ । एसियाली विकास बैंक (एडीबी) ले नेपालको यो वर्षको आर्थिक वृद्धिदर अनुमान गत वर्षभन्दा संकुचित हुने बताएको छ । बैंकले सन् २०२३ मा ४.१ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुक (एडीओ) को पछिल्लो संस्करणमा चालू वर्ष ४.१ प्रतिशत र आगामी वर्ष ५.० प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको हो । कडा मौद्रिक नीति, सुस्त घरेलु माग, कोभिड राहत फिर्ता र प्रतिकूल विश्व परिदृश्यका कारण नेपालको कुल गार्हस्थ्य उत्पादन सुस्त हुने एडीबीले जनाएको छ ।

विश्व अर्थतन्त्रको समस्याले नेपालको पर्यटन र रेमिट्यान्स आप्रवाहलाई धक्का दिने जोखिम देखिएको एडीबीका नेपालका लागि देशीय निर्देशक आर्नाउड कुस्वाले बताए । उनका अनुसार लगानी योजना र वित्तीय व्यवस्थापन तथा परियोजना तयारीका लागि हुने बजेट खर्चले अर्को वर्ष भने आर्थिक वृद्धिमा सुधार आउने छ ।

त्यस्तै कृषि क्षेत्रको वृद्धिदर यो वर्ष २.० प्रतिशत हुने एडीबीको अनुमान छ । अघिल्लो वर्ष २.३ प्रतिशतबाट यो घटाइएको हो । यस बाहेक सेवा क्षेत्रको वृद्धिदर पनि गत वर्षको ५.९ प्रतिशतबाट घटेर ४.४ प्रतिशशतमा रहने एडीबीले जनाएको छ । यो वर्ष नेपालको महंगी गत वर्षको ६.३ प्रतिशतबाट बढेर ७.४ प्रतिशत पुग्ने र चालू खाता घाटा जीडीपीको ४ प्रतिशतमा समेटिने एडीबीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७