लुम्बिनी पिस हाफ म्याराथन : सेनाका अधिकारी र प्रहरीका पछाई पहिलो


२३ चैत्र २०७९, बिहीबार
Running 2

लुम्बिनी । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोर्टस् एकेडेमीले बिहीबार लुम्बिनीमा आयोजना गरेको लुम्बिनी पिस हाफ म्याराथन प्रतियोगितामा दीपक अधिकारी र राजपुरा पछाई प्रथम भएका छन् ।

शान्ति र समृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्ध जन्मस्थल लुम्बिनीमा भएको २१ किलोमिटर लामो पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले एक घण्टा ६ मिनेट दुई सेकेण्डमा दूरी पार गरे । उनले एक लाख ५० हजार रुपैयाँ नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरे । महिलातर्फ २१ किलोमिटरको दूरी नेपाल प्रहरीकी राजपुरा पछाईले एक घण्टा २४ मिनेट दुई सेकेन्डमा पूरा गरेर उपाधि जितिन् । उनले एक लाख ५१ हजार रुपैयाँ नगद, सिल्ड तथा प्रमाणपत्र प्राप्त गरिन् ।

प्रतियोगितामा पुरुषतर्फ एपिएफका गोपीचन्द्र पारखी दोस्रो र आर्मीका मुकेश पाल तेस्रो भए । उनीहरूले क्रमशः एक घण्टा ६ मिनेट ४६ सेकेण्ड र एक घण्टा सात मिनेट १५ सेकेन्डमा दूरी पार गरे । यस्तै, त्रिभुवन आर्मीकै नरेन्द्र रावलले एक घण्टा सात मिनेट १५ सेकेण्डमा दूरी पार गर्दै चौथो स्थान प्राप्त गरे ।

महिलातर्फ एपिएफकी विन्द्रा धान्के श्रेष्ठले दोेस्रो, नेपाल प्रहरीकी रेखा विष्ट तेस्रो र आर्मीकी पूर्णलक्ष्मी चौथो भइन् । उनीहरूले क्रमशः एक घण्टा २६ मिनेट सात सेकेण्ड, एक घण्टा २६ मिनेट ११ सेकेण्ड र १ घन्टा २८ मिनेट ३३ सेकेण्डमा दूरी पार गर्न सफल भए ।

प्रतियोगितामा द्वितीय स्थान हासिल गर्ने दुवैतर्फका प्रतियोगीले ७५ हजार र तृतीयले ५० हजार र चौथो स्थान हासिल गर्ने ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फका पाँचौँ स्थान हासिल गर्नेले २० हजार, छैटौँले १० हजार, सातौँले सात हजार, आठौँले पाँच हजार र नवौँ तथा दशौँले पाँच–पाँच हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।

प्रतियोगिताका विजेतालाई एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले प्रमाणपत्र वितरण गर्ने कार्यक्रम छ । लुम्बिनीमा रहेको शान्तिदीपमा अध्यक्ष ओलीले मसाल बालेर खेलाडीलाई हस्तान्तरण गरेपछि म्याराथन सुरु भएको थियो । मायादेवी प्रवेशद्वारबाट सुरु भएको म्याराथन लुम्बिनीको वरिपरि दुई पटक घुमेको थियो । प्रतियोगितामा देशभरका दुई हजार पाँच सय खेलाडी म्याराथनमा भाग लिएको मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७