कुकुरको ठाउँमा मस्कले फेरि फर्काए ‘ब्लूबर्ड’


२४ चैत्र २०७९, शुक्रबार
Twitter

काठमाडौं । अर्बपति इलन मस्कले चर्चित सामाजिक सञ्जाल ट्वीटरको स्वामित्व लिइसकेपछि यसको नियम तथा फिचरका विषयमा बेलाबेलामा फेरबदल गरिरहन्छन् ।

कहिले रकम तिरेर जोसुकैले पनि ब्लूटिक पाउने कुरा होस् या शुल्कको कुरा । मस्क ट्वीटरको विषयलाई लिएर बेलाबेलामा चर्चासँगै ट्रोल पनि बनिरहेका छन् । यतिबेला भने उनी ट्वीटरको लोगोको विषयलाई लिएर चर्चामा छन् । गत सोमबार मस्कले ट्वीटरको ‘ब्लूबर्ड’ लोगोलाई परिवर्तन गरी कुकुरको फोटो राखेका थिए । एक्कासी ट्वीटरको लोगोमा आएको परिवर्तनका कारण प्रयोगकर्ता अचम्मित त भए नै मालिक मस्कको आलोचनासम्म पनि गर्न भ्याए ।

उनै मस्कले आज शुक्रबार पुनः कुकुर हटाएर ‘ब्लूबर्ड’ फिर्ता गराएका छन् । यता, कुकुरको लोगो हटाउने बित्तिकै क्रिप्टोकरेन्सी ‘डोजक्वाइन’ को भाउमा भने भारी गिरावट आएको छ । पछिल्लो २४ घण्टामा डोजक्वाइनको भाउ करिब ९ प्रतिशतले घटेको हो । यसअघि ‘शिवा इनु’ प्रजातिको उक्त कुकुर ट्वीटरको नयाँ लोगोको रूपमा प्रयोग भएपछि ‘डोजक्वाइन’ को भाउ करिब २५ प्रतिशतले बढेको थियो ।

ट्वीटरको लागोको रूपमा प्रयोग भएको सोही कुकुर क्रिप्टोकरेन्सी डोजक्वाइनको लागोको रुपमा पनि प्रयोगका कारण यसको भाउमा प्रभाव परेको हो। गतवर्ष ट्वीटरको जिम्मेवारी लिएका अर्बपति इलन मस्क लामो समयदेखि डोजक्वाइनको पक्षमा रहँदै आएका छन् ।

मस्कले एक पटक डोजक्वाइन लेनदेन वा कारोबारका लागि बिटक्वाइन भन्दा राम्रो भएको समेत बताएका थिए । तसर्थ, डोजक्वाइन मस्कसँग जोडिने वित्तिकै यसको भाउमा उतारचढाव हुने गरेको छ । मस्कले अब यही नै लोगो आधिकारिक बनाएर राख्छन् या पुनः परिवर्तन गर्छन् यसबारे भने केही पनि खुलाएका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७