शान्ति सुरक्षामा खटिनु पर्ने हवल्दार एसएसपीको भैंसी हेर्दै


२४ चैत्र २०७९, शुक्रबार
po

काठमाडौं । नेपाल प्रहरीका नव नियुक्त आईजीपी बसन्तबहादुर कुँवरले संगठनमा शुद्धिकरणको उद्घोष गरिरहेका बेला एक एसएसपीले प्रहरी जनशक्तिको दुरुपयोग गर्दै एक हवल्दारलाई भैंसी गोठमा काम गर्न खटाएको पाइएको छ ।

अहिले कल्याण शाखामा कार्यरत एसएसपी केदार ढकालले अपराध महाशाखाबाट राजबिराज तालिम केन्द्र जाँदा प्रहरी सहायक हवल्दार (सवारी चालक) लिलाबहादुर श्रेष्ठलाई लिएर गएका थिए । उनले अहिले श्रेष्ठलाई मोरङको बेलबारीस्थित भैंसी फार्ममा काममा लगाएको पाइएको छ । सहायक हवल्दार श्रेष्ठ इलाका प्रहरी कार्यालय बेलबारीमा हाजिर गर्ने र एसएसपीको भैंसी गोठमा काम गर्ने गरेका छन् । अहिले प्रहरी जनशक्तिको यसरी दुरुपयोग भएको बिषयमा आइजीपी कुँवरकै सचिवालयमा उजुरी परेको छ ।

ढकाल २०७७ बैशाखमा एसएसपी बढुवा भएका थिए । एसएसपी बढुवा भएपछि २०७७ मा उनी राजबिराज तालिम केन्द्रमा खटिएका थिए । त्यही समयदेखि नै श्रेष्ठलाई उनले बेलबारीस्थित घरमा भैंसी हेर्न परिचालन गरेका छन् ।

यसअघि प्रहरी जनशक्तिको दुरुपयोग गर्दै बिचौलिया रामचन्द्र भट्टलाई सवारी चालक समेत उपलब्ध गराइएको थियो । टीसीएनका पूर्व महाप्रबन्धक समेत रहेका भट्टले प्रहरीको सवारी चालक लिएर शानसौकत देखाउँदै आएका छन् । मुख्यसचिव शंकरदास बैरागी र लगानीबोर्डका सीईओ सुशील भट्टले रामचन्द्र भट्टलाई अरुण तेस्रो आयोजनाको निर्माण गर्ने भारतीय कम्पनी सतलजमा मासिक ४ लाख रुपैयाँ तलव पाउने गरी राखिदिएका छन् ।

शैलेन्द्र खनाल सशस्त्र प्रहरीको आइजीपी हुँदा उनले धेरै पावर सेन्टरमा बडीगार्ड र सवारी चालक उपलब्ध गराएका थिए । अमरेशकुमार सिंहदेखि बिचौलिया नरेश भट्ट, सुरेश अधिकारीलाई खनालले सशस्त्रका सवारी चालकदेखि बडीगार्ड उपलब्ध गराएको बिषय बारम्बार मिडियामा उजागर भएको थियो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कार्यरत तल्लो तहको जनशक्तिलाई बडीगार्ड, घरेलु कामदारदेखि सवारी चालकसम्म खटाउने क्रम रवि लामिछाने गृहमन्त्री हुँदा रोक्न खोजेका थिए । तर, उनी नागरिकता विवादका कारण सरकारबाट हट्नु परेपछि उनले थालेको सुधारका कार्यक्रम अलपत्र परेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७