एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेद्वारा पार्टी परित्याग

‘मैले राखेको फरक मतमा छलफल समेत गरेनन्’


२५ चैत्र २०७९, शनिबार
Mukunda Neupane1 qLWoJuPnrD

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपानले पार्टी परित्याग गरेका छन् । उनले पार्टीको केन्द्रीय कमिटीमा आफूले राखेको फरक मतबारे छलफल नगरेपछि पार्टी छाडेको जनाएका छन् । उनले केन्द्रीय कमिटी बैठकमा ३३ बुँदे फरक मत राखे पनि हालसम्म एजेण्डाको रूपमा प्रस्तुत नगरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘मैले मिति २०७९ माघ २१ र २२ को केन्द्रीय कमिटिको बैठकमा आफ्नो धारणा सहित ३३ बुँदे फरक मत राखि छलफलको लागि माग गरेको थिए । हालसम्म कुनै पनि छलफल नभएकाले सो पार्टीमा म जस्तो विगत ५४ वर्षको राजनीतिक जीवनमा यात्रा गरेको कम्युनिष्ट कार्यकर्ता विधि, प्रक्रिया र सांगठनिक ढाँचाअनुरुप पार्टीको सदस्य भएर बस्नुभन्दा देशको असल नागरिक भएर बस्नु उचित हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।
हेर्नुस् विज्ञप्ती

आदरणीय पत्रकार मित्रहरु हार्दिक अविवादन ।
म मुकुन्द नेउपाने भोजपुर जिल्ला गोगने मा मिति २००७ साल जेष्ठ २२ गते बाबु लिलानाथ न्यौपाने र माता विष्णुमाया न्यौपाने वाट जन्म भएको थियो ।

नेपालमा २०२६ सालमा सुस्ता महेशपुर, कालापानी लगायत नेपालको भुभागमा भारतिय बम अतिक्रमण विरुद्व राष्ट्रियताको आवाज उठाउँदै मेरो सक्रिय राजनिति शुरु भएको हो । जुन समयमा राष्ट्र र राष्ट्रियता केबल कम्युनिष्टले मात्र गर्न सक्छ भन्ने विश्वासका साथ २०२८ सालदेखि गरिब, निमुखा, सामाजिक तथा सास्कृतिक अत्याचारको विरुद्वमा पञ्चायती सत्ता परिवर्तन गर्न म भुमिगत भएर २०३२ साल जेष्ठ २८ गते सीपी मैनालिको अध्यक्षयतामा कोअर्डिनेशन केन्द्र निर्माण गरि सदस्यहरु माधव कुमार नेपाल, झलनाथ खनाल, अमृत बोहरा, मुकुन्द न्यौपाने, मणिलाल राई, गोविन्द न्यौपाने आदि लगायत ८ जना बाट पार्टि निर्माण गरियो र म केन्दीय कमिटिको तर्फबाट नारायणी इन्चार्ज भई पार्टी निर्माणमा भुमिगत रहि अगाडि बढीरहे ।

२०३४ सालमा पुष्पलाल श्रेष्ठको मुक्तीमोर्चा समुहको नेतृत्व गरेर मोदनाथ प्रश्रीत, मदन भण्डारी र जिवराज आश्रीत सहितको ठुलो समुह कोर्डिनेशन केन्द्रमा सामेल भई २०३५ साल पुष ११ गते नेपाल कम्यूनिष्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) गठन भयो । सो पार्टिको कन्द्रीय सदस्यको जिम्मेवारिका साथ पार्टि निर्माणमा सक्रियताका साथ राजनितिक यात्रा अगाडि बढिरहयो । २०४७ सालमा मदन भण्डारीले नेतृत्व गरेको ने क पा (माले) र मनमोहन अधिकारीले नेतृत्व गरेको नेकपा (माक्र्सवादी) मिलेर ने क पा (एमाले) निर्माण भयो । सो समय देखि पार्टी सङ्गठन र संसदिय राजनितिमा २०४८ साल तत्कालिन बारा क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य विजयी हुदै २०५४ मा श्रम मन्त्रीको जिम्मेवारी प्राप्त गर्दै ने क पा (एमाले) पार्टीको स्थाई कमिटिको भुमिका निर्वाह गर्दै २०७४ सालमा ने क पा निर्माण हुदासमेत म सक्रीयताका साथ लाग्दै आएको अवगतै छ । त्यसपछि नेपालको राजनिति उतारचढाब बाट पार्टि विभाजन भई म ने क पा (एकिकृत समाजवादी) को नेता हुदै विभिन्न जिम्मेवारीका साथ कार्यरत थिए ।

नेकपा (एकिकृत समाजवादी) निर्माण गर्दा नेपाली कम्यूष्टि आन्दोलनको निष्ठा र वैज्ञानिक कम्प्यूष्टि पद्धति, प्रक्रीयाका साथ नेपाली गरिब, निमुखा, झुटा आश्वासन, लोकतान्त्रीक गणतन्त्रको पद्दतीकमा निरासा भएका बेरोजगारी युवा, महिला तथा जेष्ठ नागरीक, विधार्थीहरुको वैकल्पीक कम्यूनिष्ट पार्टिको रुपमा रुपान्तरण हुनेछ भन्ने विश्वास र अठोटका साथ म यो पार्टीमा लागेको हुं। राष्ट्र राष्ट्रीयताको पक्षमा वकालत गरी एक्काइसौ सताब्दीको समाजबादी वैज्ञानिक कम्यूनिष्ट पार्टिको परिकल्पनामा म नेकपा एकिकृत (समाजवादी) पार्टिमा जिम्मेवारी लिये-सो समयमा सत्ता गठबन्धनको सिमसार दलदलमा, पार्टि पद्धति र प्रक्रीया विपरित दलमा नेताहरु फसे र पार्टीका बैठकमा छलफल, सरसल्लाह नगरी कोठे राजनितिको चंगुलमा पार्टि नेतृत्व फस्यो । पार्टीको निति र विधि विपरित बिद्रोह गरेर बनेको पार्टी भित्र प्रक्रिया र पद्दतिलाई अनुसरण गर्दै व्यवस्थित मर्यादित होला भन्ने ठानेको थिएँ ।

त्यसैले स्थानिय निर्वाचन देखि प्रदेश र प्रतिनिधि सभा निर्वाचन सम्म आउदा नेकपा एकिकृत समाजवादीले परिचय दियो तर पहिचान दिएन, सदैव आ–आफ्नो स्वार्थमा निहित भएको आभास मलाइ लाग्यो । बिचार र दर्शनको धारलाई भुत्ते पारेर परिवर्तनको द्वन्दात्मक भौतिकवादी दर्शनको धार बाट अलगथलग भई बस्तुगत परिस्थितिको ठोस विश्लेषण नै नगरी मार्क्सवादका दुइचार शब्दहरु अगाडि सारेर अबस्तुवादी आत्मगत चिन्तनमा आधारित शास्त्रीय आख्यान पिलाउदै हिड्नु भनेको आफु लाई पिंध नभएको बाल्टीमा परिणत गर्नु हो । जति पटक ईनारमा डुबाएर तानेपनि माथि आउँदा रितै हुन्छ । आज नेकपा एकिर्कत समाजवादीका नेतृत्व पंक्तिका कतिपय नेता र तलका कमिटिका कतिपय कार्यकर्ताको हालत यस्तै छ । सांसदको लागि झगडा गर्ने सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने जति खाए पनि नअघाउने जति भरेपनि नभरिने ।

मैले मिति २०७९ माघ २१ र २२ को केन्द्रीय कमिटिको बैठकमा आफ्नो धारणा सहित ३३ बुँदे फरक मत राखि छलफलको लागि माग गरेको थिए । हाल सम्म कुनै पनि छलफल नभएकोले सो पार्टिमा म जस्तो विगत ५४ वर्षको राजनितिक जिवनमा यात्रा गरेको कम्यूनिष्ट कार्यकर्ता विधि, प्रक्रीया र सांगठनिक ढाँचा अनुरुप पार्टिको सदस्य भएर बस्नु भन्दा देशको असल नागरिक भएर बस्नु उचित हुनेछ भन्ने सोचका साथ लेनिनले १९१७ मा भनेका वाक्य स्मरण गर्दै भविष्य नभएको पार्टिको नेता हुन भन्दा सम्मानित नागरीक भएर जिउनु जिवनको लागि महत्वपुर्ण कुरा हो भन्ने अभिशाबलाई आत्मसाथ गर्दै म आजका मिति २०७९ साल चैत्र २५ गतेका दिन देखि यस पार्टिको साधारण सदस्य समेत तथा सम्पुर्ण पार्टि जिम्मेवारी परित्याग गरेको घोषणा गर्दछु । मेरो जिम्मेवारीमा साथ दिने असल कार्यकर्ता तथा संगठनका सदस्यहरुलाई म धन्यवाद दिन चाहन्छु ।
मुकुन्द नेउपाने

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७