नयाँ वर्षको अवसरसँगै अब दैनिक जनकपुर–जयनगर रेल चार पटक चल्ने


१ बैशाख २०८०, शुक्रबार
train

जनकपुर । नेपाल रेल्वे कम्पनी लिमिटेडले कुर्था–जनकपुरधाम–जयनगर रेल्वेले सेवा विस्तार गर्नुका साथै सञ्चालन तालिकामा पनि फेरबदल गरेको छ ।

नेपाली यात्रुको माग र धार्मिक पर्यटकलाई जनकपुरधाममा लामो समयसम्म टिकाउन रेल्वे सेवा थप गरिएको नेपाल रेल्वे सेवा कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिएका छन् । उनले भारतको जयनगरबाट लामो दूरीका लागि खुल्ने तथा आउने रेल्वेको समय तालिकालाई ध्यानमा राखी नेपाल रेल्वेको समय तालिकामा परिवर्तन गरिएको बताए ।

‘कुर्था–जनकपुरधाम–जयनगर रेल्वेबाट जयनगर पुगेर नेपालीहरु किनमेल गर्छन् कि त त्यहाँबाट भारतको लामो दूरीको सहरहरुमा यात्रा गर्छन्,’ उनले भने, ‘त्यस्तै जयनगर हुँदै भारतीय पर्यटकहरु भागवान रामसीताको विवाह भएको पवित्र भूमि जनकपुरधाममा मन्दिर दर्शन गर्न आउँछन् । त्यसैले उहाँहरुले हतार नगरी समय बिताउन पाउन् भन्ने उद्देश्यले रेल्वे सेवा थप र समय तालिका परिवर्तन गरिएको छ ।’

परिवर्तित समयतालिका अनुसार बिहान जनकपुरधामबाट जयनगर पुग्ने यात्रुले आठ घण्टा र जयनगरबाट जनकपुरधाम आउने धार्मिक पर्यटकले चार घण्टा समय पाउने छन् । अब यो समयतालिका अनुसार जनकपुरधामबाट जयनगर खरिद–बिक्री गर्न तथा अन्य प्रयोजनले जाने यात्रु र जनकपुरधाम आउने धार्मिक पर्यटक तथा यात्रुलाई घुमफिर गर्न पर्याप्त समय मिल्ने महाप्रबन्धक झाको विश्वास छ ।

यस्तो छ कुर्था–जनकपुरधाम–जयनगर रेल्वेको समय तालिका

बिहान ७ः१५ बजे कुर्था रेल्वे स्टेशनबाट खुल्ने रेल ७ः३० बजे जनकपुरधाम रेल्वे स्टेशनमा पुग्छ । उक्त रेल ९ः१५ मा जयनगर रेल्वे स्टेशन पुग्छ ।

त्यस्तै जयनगरबाट ९ः३० मा जनकपुरधामका लागि खुलेको रेल १०ः५५ मा जनकपुर पुग्छ । ११ः०० बजे जनकपुरधामबाट प्रस्थान गरी उक्त रेल्वे ११ः३० बजे कुर्था पुग्छ ।

त्यस्तै अर्को सिफ्टमा कुर्थाबाट २ः४५ मा जयनगरका लागि खुल्ने रेल २ः५५ मा जनकपुर पुग्छ र ३ः०० बजे जनकपुरबाट जयनगरका लागि प्रस्थान गर्छ । ४ः४५ मा उक्त रेल्वे जयनगर पुग्छ । ५ः०० बजे जयनगरबाट अन्तिम रेल कुर्थाका लागि खुल्छ र जनकपुरधाम ६ः२५ मा पुग्छ । उक्त रेल ६ः३० मा कुर्थातर्फ प्रस्थान गर्ने र ७ः०० बजे कुर्था पुग्ने समयतालिका बनाइएको छ ।

जयनगर रेल्वे स्टेशनमा भारती रेल्वेको ‘राजधानी एक्सप्रेस’ बिहान ९ बजे आउँछ र बेलुका ३ बजे लामो दुरीको यात्राका लागि खुल्छ । यसै समयतालिकालाई नेपाल रेल्वे कम्पनीले मध्यनजर गर्दै समयतालिका परिवर्तन गरेको जनाइएको छ ।

कुर्था–जनकपुरधाम–जयनगरसम्म ३५ किलोमिटर सञ्चालन भइरहेको रेल्वेको रात्रि विश्राम यसअघि जयनगर बजारको सीमावर्ती नेपालको इनर्वामा रहँदै आएको थियो । तर, आजबाट रात्रि विश्राम कुर्थामा रहनेछ र त्यहाँबाट सिधै जयनगरका लागि दुई पटक प्रस्थान गर्ने महाप्रबन्धक झाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७