भारतबाट फर्किने अधिकांशमा कोरोना संक्रमण


१ बैशाख २०८०, शुक्रबार
naka2022 01 06 06 07 24

बैतडी । केही महिनायता संक्रमण दर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण दर फेरी बढ्न थालेको छ । भारतबाट स्वदेश आउने अधिकांशमा संक्रमण देखिन थालेको हो ।

प्रदेशमा चैतमा मात्रै दुई सय ८८ जनामा संक्रमण पुष्टि भएको छ । भारतसँग सीमा जोडिएका क्षेत्रमा दिनहुँ कोरोना संक्रमित भेटिन थालेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले बताए । भारतका विभिन्न सहरमा कोरोना संक्रमण देखिएकाले त्यसको प्रभाव यहाँ पनि पर्न थालेको उनको भनाइ थियो । उनले भने, ‘संक्रमण पुष्टि हुने सबैजसो भारतबाट आएका व्यक्ति छन् । भारतमा संक्रमण तीव्र रुपमा फैलिरहेकाले पनि सीमा क्षेत्रमा दैनिक आवागमन भइरहने हुँदा यहाँ संक्रमितको संख्या बढ्न थाले हो ।’

नयाँ वर्ष तथा बिशु पर्व मनाउन गाउँ फर्किनेको संख्या बढेकाले संक्रमण दर पनि बढ्न थालेको जोशीले बताए । उनका अनुसार भारतसँग सीमा जोडिएका क्षेत्रमा जोखिम बढी हुने भएकाले उच्च सतर्कता अपनाउन निर्देशनालयले सबैलाई अनुरोध गरेको छ । भारतसँग सीमा जोडिएका यहाँका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकामा नियमित कोरोना परीक्षण भइरहेको निर्देशनालयले जनाएको छ ।

यी नाकामा हेल्थ डेस्क स्थापना गरेर एन्टीजेनमार्फत कोरोना परीक्षण पश्चात् मात्रै स्वदेश भित्रिन दिइने गरिएको छ । परीक्षणपछि संक्रमण देखिनेलाई सम्बन्धित पालिकासँग समन्वय गरी होम आइसोलेसन बस्ने व्यवस्था मिलाइएको छ ।

संक्रमितलाई होम आइसोलेसनमा बस्न भने पनि आइसोलेसनको मापदण्डअनुसार उनीहरु आइसोलेसनमा नबस्दा समुदायमा जोखिम बढ्न सक्ने जोशीले बताए । उनले भने, ‘हामीले सङ्क्रमितलाई होम आइसोलेसनमा बस्ने भनेका छौँ, उनीहरुले होमआइसोलेसनमा नबस्दा समुदायस्तरमै कोरोना संक्रमण फैलने जोखिम बढेको छ ।’

संक्रमणको जोखिम बढेसँगै कोरोना विरुद्धको खोप अभियानलाई पनि निरन्तरता दिइएको छ । प्रदेशका सबै स्थानीय तहमा कोरोना विरुद्धको बुस्टर डोज लगाउन तथा जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न निर्देशनालयले आग्रह गरेको छ ।

सुदूरपश्चिममा हालसम्म छ लाख ५४ हजार ८८ को कोरोना परीक्षण गर्दा ६२ हजार एक सय ६८ जनामा संक्रमण देखिएको छ । संक्रमणका कारण हालसम्म छ सय ३५ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७