डेढ दशकमा बाढी–पहिरोमा परी ७५ को मृत्यु, १६ जना अझै बेपत्ता


९ बैशाख २०८०, शनिबार
pahiro Baglung
फाइल फोटो

बागलुङ । बागलुङमा हरेक वर्ष बाढीपहिरामा परी धेरैले ज्यान गुमाउने गरेका छन् । तल समथर भूभाग माथि अग्लो पहाड । त्यसमाथि हुने जतात्यतै डोजरको प्रयोगले हुने विकासले बाढीपहिरो र भूक्षयको जोखिम बढिरहेको छ । बर्सातको समयमा बाढी पहिरोले सयौँ क्षेत्रफल खेतीयोग्य जमिन बगाउने गरेको छ भने बस्ती समेत बगाउने गरेको छ ।

जिल्लामा बर्सेनि पहिरोका कारणले जनधनको क्षति हुने गरेको विगतको तथ्याङ्कले छ । १५ वर्षयताको बाढीपहिराको तथ्याङ्क हेर्दा ७५ जनाको ज्यान गएको छ भने १६ जना बेपत्ता छन् । विसं २०६४ देखि २०७९ सम्म बागलुङमा दर्जनौँ बस्ती विस्थापित भएका छन् । जिल्ला प्रशासन कार्यालयले बेपत्ता नागरिकको परिवारलाई मृतक सरह राहत रकम प्रदान गरेको छ ।

१५ वर्षको अवधिमा पहिराबाट सबैभन्दा बढी ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिका क्षेत्रमा मानवीय क्षति भएको छ । हालको बडिगाड गाउँपालिकामा पर्ने साबिकको ग्वालिचौरमा विसं २०६४ मा गएको पहिरामा परी २९ जनाले ज्यान गुमाएका थिए । पहिरामा बेपत्ता भएका नागरिकलाई पनि मृतकमै गणना गर्ने हो भने ढोरपाटन–९ मा विसं २०७७ मा गएको पहिराले जिल्लामा अहिलेसम्मकै सबैभन्दा ठूलो मानवीय क्षति गरेको छ । उक्त पहिरामा परी २३ जनाको मृत्यु भएको थियो । १५ जना बेपत्ता छन् ।

बेपत्तालाई मृतकका सूचीमा राख्ने हो भने पहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुग्छ । जिल्ला विपद् व्यवस्थापन समितिको विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण गर्ने सिलसिलामा प्रकोपको स्तरीकरण गर्दा पहिरोको प्रकोप एक नम्बरमा परेको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बताइन् । जिल्लामा हरेक वर्ष हुने मनसुनजन्य प्रकोपबाट मानवीय क्षति भएकै छ ।

विसं २०७५ असार ११ गते बरेङ गाउँपालिका–१ धुल्लुबासकोटको पहिरामा दुई, २०७५ साउन ३० गते निसीखोला गाउँपालिका–३ मा पहिरो गई घर पुरिँदा तीनजनाको मृत्यु भएको थियो । मनसुन आपत्कालीन योजनामा समावेश तथ्याङ्कअनुसार २०७६ साल साउन ७ गते गलकोट नगरपालिका–८ ज्यामिरेको पहिरोमा एक, २०७६ साउन २० गते तमानखोला गाउँपालिका–४ लाम्मेला शिवपुरीमा पहिरो गई तीन जनाको मृत्यु भएको उल्लेख छ ।

जिल्लाको काठेखोला गाउँपालिका–४ मा २०७७ साल असार ६ गते पहिरो गई एक, २०७७ साउन १० बागलुङ नगरपालिका–१ मा आएको पहिराले पुरिएर एकजनाको मृत्यु र एक बेपत्ता भएका थिए । निसीखोला–१ मा २०७७ साउन १२ गतेको पहिरोले एक जना सोही दिन तमानखोला–२ मा आएको पहिरोमा परी दुई, २०७७ साउन ३० गते निसीखोला–३ का एक जना र निसीखोला–५ का दुई जनाको मृत्यु भएको थियो ।

ढोरपाटन–२ मा २०७७ साल भदौ ९ मा एक, ढोरपाटन–१० मा भदौ १६ गते आएको बाढी पहिरोले एकको मृत्यु भएको थियो । विसं २०७७ कै भदौ २७ मा बडिगाड–१० मा एक, भदौ २८ र २९ गतेको पहिरामा परी जैमिनी–२ मा दुई र वडा नं ५ मा एक जनाको मृत्यु भएको थियो । समग्रमा २०७७ सालमा बागलुङमा ४० जनाको बाढीपहिरो चट्याङबाट मृत्यु भएको, १६ जना बाढीपहिरामा बेपत्ता भएको थिए । विसं २०७८ असारको वर्षाका कारण बागलुङ–कुश्मिसेरा सडकको गलुवा खण्डमा पहिरोबाट क्षतिग्रस्त सडक साउन ३ गतेदेखि सञ्चालन गरिएको थियो ।

गत वर्षको असोज ३१ गतेदेखि परेको बेमौसमी वर्षाका कारण जिल्लाभरिका तीन हजार पाँच सय कृषकको चार सय १० हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा समेत प्रभाव पारेको थियो । ४१ कृषकको एक सय चार रोपनी क्षेत्रफलमा लगाइएको धानबाली पूर्ण रुपमा क्षति भएको थियो । पहिरोले विस्थापित परिवार हिउँदमा जीर्ण घरमै बसे पनि बर्खा लागेपछि थातथलो छाडेर अन्तै सर्नुपर्ने स्थिति छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७