नेपालगञ्ज रंगशालामा एथलेटिक्सको सिन्थेटिक ट्रयाक शिलान्यास


१० बैशाख २०८०, आईतवार
RupaniGM Janaki RSS 10 20230423 095051 1

नेपालगञ्ज । नेपालगञ्ज रंगशालामा निर्माण हुन लागेको एथलेटिक्स सेन्थेटिक ट्रयाकको शिलान्यास भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले आइतबार सेन्थेटिक ट्रयाकको शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रममा बोल्दै सदस्य सचिव घिसिङले नेपालगञ्ज रंगशालामा निर्माण हुन लागेको सेन्थेटिक ट्रयाकले पश्चिम नेपालको खेल विकास र खेलाडी उत्पादनमा टेवा पुग्ने बताए । उनले नेपालगञ्ज खेलकुदको उर्वर भूमि भएको बताउँदै यसले थप सहयोग पुग्ने धारणा राखे ।

उक्त सेन्थेटिक ट्रयाक ११ महिनामा सम्पन्न गर्ने गरी काठमाडौंस्थित प्रतीक्षा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको छ । तोकिएको समयमा निर्माण सक्न निर्माण कम्पनीलाई निर्देशन दिइसकेको बताउँदै उनले कम्पनीले निर्धारित समयमा काम नसके सम्झौता रद्द हुने स्पष्ट पारे।

१३ करोडको टेन्डर आह्वान भए पनि प्रतीक्षा निर्माण कम्पनीले ११ करोड ६४ लाख ६४ हजार लागतमा ट्रयाक निर्माण गर्ने भएको छ । १० चैतअघि नै निर्माण कम्पनी र राष्ट्रिय खेलकुद परिषदबीच सम्झौता भइसकेको छ ।

निर्माण कम्पनीले १५ वैशाखदेखि निर्माणको काम थाल्ने जानकारी दिएको मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले बताए । उनले ट्रयाक निर्माण भए एथलेटिक्सका खेलाडीलाई अभ्यासका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य हुने जिकिर गरे ।

नेपालगञ्ज रंगशालामा प्यारापिटसहितको अन्तर्राष्ट्रिय मापदण्डको पौडीपोखरी, घाँसको फुटबल मैदान, अत्याधुनिक प्यारापिट, सुटिङ हल, भारोत्तोलन, भलिबल, ब्याडमिन्टन कोर्ट, बास्केटबल कोर्टलगायतका खेल संरचना रहेका छन् । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका अधिकांश खेल नेपालगञ्ज रंगशालामा भएका थिए । तर, सेन्थेटिक ट्रयाक नहुँदा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एथलेटिक्सका खेल दाङको बेलझुण्डीमा भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७