इतिहासकै धेरै आरोही सगरमाथा आरोहणमा

सगरमाथा आधार शिविरमा सरकारको कार्यालय


१३ बैशाख २०८०, बुधबार
Sagarmatha base camp
तस्वीर स्रोत : सेभेन समिट ट्रेक्स

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि चार सयभन्दा बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आजसम्म ४२ आरोही समूहका चार सय ६३ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका हुन् । सगरमाथामा आज बुधवारसम्म चार सय ६३ जनाले आरोहण अनुमति लिएका र यो अहिलेसम्मकै धेरै रहेको पर्यटन विभागका निर्देशक एवम् पर्वतारोहण शाखाका संयोजक युवराज खतिवडाले जानकारी दिए ।

यसअघि सबैभन्दा धेरै सन् २०१९ मा तीन सय १५ जनाले आरोहण अनुमति लिएका थिए । कोरोना महामारीका कारण प्रभावित भएको पर्यटन व्यवसाय लयमा फर्कदै गर्दा पर्वतारोहणसम्बन्धी व्यवसायले भने इतिहासकै ’रेकर्ड’ तोड्दै उत्साहित बनाएको खतिवडाले बताए ।

पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाका अनुसार अब दुई-तीन जना नेपाली र केही विदेशी सगरमाथा आरोहणको अनुमति लिने प्रक्रियामा छन् । समग्रमा यो वर्षको वसन्त ऋतुमा करिब चार सय ७० आरोहीले अनुमति लिने विभागको अनुमान रहेको छ ।

अनुमति लिएका आरोही अहिले सगरमाथाको आधार शिविर र दोस्रो शिविरमा आरोहणको प्रतीक्षामा छन् । सगरमाथाको चौथो शिविरसम्म आइसफल डाक्टरले बाटो बनाइसकेका छन् । सगरमाथाको चुचुरोमा डोरी टाँगेपछि आरोहण सुरु हुन्छ । सरकारले सगरमाथा आरोहण अनुमतिबाट मात्रै ७३ करोड ७४ लाख राजस्व सङ्कलन गरेको छ । अनुमति लिएका आरोहीहरू सगरमाथालगायतका हिमालको आधार शिविरमा पुग्ने क्रम चलिरहेको छ ।

सगरमाथा आधार शिविरमा सरकारको कार्यालय

यस वर्षको वसन्त ऋतुमा पर्यटन विभागले सगरमाथाको आधार शिविरमा सम्पर्क कार्यालय स्थापना गरेको छ । यसअघिका वर्षहरूमा सगरमाथामा विभिन्न गैरकानुनी क्रियाकलाप हुने गरेको तथा विभिन्न आरोही समूहबीच झगडा समेत हुने गरेको गुनासो आउने गरेकोमा त्यसलाई निगरानी र नियन्त्रण गर्न सम्पर्क कार्यालय नै स्थापना गरेको विभागका निर्देशक युवराज खतिवडाले जानकारी दिएका छन् ।

सगरमाथामा अनुमति नलिएकाहरूले विभिन क्रियाकलाप गरेको तथा आरोहण नै नगरी नक्कली कागजात बनाएर आरोहण पूरा गरेको प्रमाणपत्र लिएकोसम्म घटनाहरू बाहिरिएपछि विभागले यस पटक कार्यालय नै स्थापना गरेको हो । यस्तै विभागले खटाएका सम्पर्क अधिकृतहरू आधार शिविर नै नपुगेको गुनासोको समेत समाधानका लागि कार्यालय स्थापना गरेको विभागले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७