‘झट्केलो छोरो’ शब्द रेकर्डबाट हटाउन अध्यक्ष तिमिल्सिनाको निर्देशन


२६ बैशाख २०८०, मंगलवार
ganesh prasad timilsina scaled

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वैशाख २४ गतेको सभाको बैठकमा नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले प्रयोग गरेको शब्द रेकर्डबाट हटाउन संसद सचिवालयलाई निर्देशन दिएका छन् ।

आज (मंगलबार) बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष तिमिल्सिनाले सांसद रायमाझीले प्रयोग गरेको ‘उहाँको झट्केलो छोरो हो, टोपबहादुर रायमाझी’ भन्ने शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् । हिजो सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद भैरवसुन्दर श्रेष्ठले रायमाझीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए ।

उनले उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका थिए । सोमबारको बैठकमा एमालेले विरोध जनाएपछि राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले उक्त अभिव्यक्ति पुनः सुन्ने र नियमावली अनुसार हटाउनु पर्ने भए सोही अनुसार निर्णय लिने बताएका थिए ।

सोही अनुसार आजको बैठकमा अध्यक्ष तिमिल्सिनाले सदस्य रायमाझीले प्रयोग गरेको शब्द राष्ट्रिय सभा नियमावली २०७५ को नियम २१ को ‘घ’को व्यवस्थासँग मेल नखाने भएकाले २०८० वैशाख २४ गतेको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् । अध्यक्ष तिमिल्सिनाले सदस्यहरुले सभामा बोल्दा राष्ट्रिय सभाको हालसम्मको अभ्यासलाई समेत मध्यनजर गरी राष्ट्रिय सभा नियमावली २०७५ को नियम २१ को व्यवस्था बमोजिम शिष्ट र मर्यादित शब्दहरु प्रयोग गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७