एमालेले पहिलो शक्ति बन्न पार्टी परिचालन कार्यक्रम घोषणा गर्दै

मिसन ग्रासरुटका प्रतिवेदनहरूमाथि सामुहिक छलफल हुँदै


२९ बैशाख २०८०, शुक्रबार

काठमाडौं । नेकपा एमालेले २०८४ को चुनावमा पहिलो शक्ति बन्ने गरी पार्टी परिचलानका कार्यक्रम घोषणा गर्ने भएको छ । नेकपा एमालेको हिजो (बिहीबार) देखि जारी केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज मिसन ग्रासरुट अभियानका प्रतिवेदनहरूमाथि छलफल सुरू भएको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र सात वटा प्रदेश र दुई वटा गैरभौगोलिक प्रदेशका मिसन ग्रासरुट अभियानको रिपोर्ट प्रस्तुतिपछि अहिले सामुहिक छलफल सुरू भएको हो । अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन र प्रदेशगत प्रतिवेदनमाथि आठ वटा समूहमा छलफल भइरहेको पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

बैठक उद्घाटनका दिन हिजो अध्यक्ष आलीको राजनीतिक प्रतिवेदन पेश हुनाका साथै महासचिव शंकर पोखरेलले बैठकमा हुने छलफलमा विषय प्रस्तुत गरेका थिए । यस्तै, पार्टीले सञ्चालन गरेको दुई महिने मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) का विषयमा भूगोलका पाँच प्रदेशका संयोजकहरूले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

जस अनुसार सुदूरपश्चिमबाट सचिव लेखराज भट्ट, कर्णालीबाट सचिव योगेश भट्टराई, लुम्बिनीबाट सचिव छविलाल विश्वकर्मा, मधेशबाट सचिव रघुवीर महासेठ र कोशी प्रदेशबाट स्थायी कमिटी सदस्य तथा इन्चार्ज राजेन्द्र गौतमले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यसैगरी आज दोस्रो दिन गण्डकी प्रदेशबाट सचिव पद्मा कुमारी अर्याल, बागमतीबाट सचिव गोकर्ण बिष्ट, सम्पर्क समन्वय कमिटीको प्रतिवेदन स्थायी कमिटी सदस्य तथा इन्चार्ज लालबाबु पण्डित र उपत्यका विशेष प्रदेश कमिटीको प्रतिवेदन पोलिटब्युरो सदस्य तथा इन्चार्ज सुजिता शाक्यले प्रतिवेदन पेश गरेका छन् ।

प्रस्तुत प्रतिवेदनमाथि समूह विभाजन गरी छलफल भइरहेको हो । प्रदेशका तर्फबाट पेश भएका कार्ययोजना समेतलाई वार्षिक कार्ययोजना बनाउन भोलि बिहान स्थायी कमिटी बैठक राखेर पुनः केन्द्रीय कमिटीको भोलिको बैठकमा कार्ययोजना प्रस्तुत गरिने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठक भोलिसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७