‘बागमती गट ट्यालेन्ट सिङ्गिङ एन्ड डान्सिङ रियालिटी शो’ हुने


३० बैशाख २०८०, शनिबार
bagamati talent show 1200x560 1

काठमाडौं । बालबालिकामा रहेको प्रतिभालाई बाहिर ल्याउन गायन र नृत्यमा प्रतिस्पर्धात्मक रियालिटी शो ‘बागमती गट ट्यालेन्ट सिङ्गिङ एन्ड डान्सिङ रियालिटी शो’ हुने भएको छ ।

एएनपी मिडिया हाउसका अध्यक्ष लवबहादुर कार्कीले बागमती प्रदेशका गायन तथा नृत्य प्रतिभाका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिए । ‘गाउँगाउँका अवसरविहीन गायन र नृत्य प्रतिभालाई मञ्च प्रदान गर्न यो रियालिटी शो आयोजना गर्दैछौँ, बालबालिकामा सानैदेखि फरक स्तरको पाइने प्रतिभालाई अवसर र मञ्च पाउनबाट वञ्चित गर्नु हुँदैन्’, अध्यक्ष कार्कीले भने, ‘बागमती प्रदेशका नौ स्थानमा पुगेर प्रतिभाको खोजी गर्नेछौँ, चरणबद्धरुपमा बाँकी छ प्रदेशका प्रतिभाका लागि पनि यसप्रकारको प्रतियोगिता गर्ने योजना छ ।’ आठदेखि १३ वर्षसम्मका बालबालिका सहभागी हुन पाउने शोको अडिसन आजदेखि सुरु हुँदैछ ।

धादिङ, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, मन्थली, सिन्धुली, भक्तपुर र काठमाडौँमा चरणबद्धरुपमा अडिसन गरेर छनोट भएका प्रतियोगीलाई काठमाडौँमा ल्याएर पुनः अडिसन गरिनेछ । त्यहाँबाट छनोट भएका बालबालिका शोमा सहभागी हुनेछन् । यस शोमा गायन र नृत्य विधामा प्रथम हुनेले रु ५० हजार, द्वितीय हुनेले रु ३० हजार र तृतीय हुनेले रु २० हजार प्राप्त गर्नेछन् ।

यसको निर्णायकमा अभिनेत्रीद्वय मिथिला शर्मा र गौरी मल्ल, गायकगायिकाद्वय आनन्द कार्की र देविका वन्दना रहेका छन् । ‘नयाँ प्रतिभा पाउनेमा विश्वस्त छौँ, हामीले इच्छा राखेका बालबालिकाका लागि अवसर प्रदान गर्दैछौँ’, अभिनेत्री शर्माले भनिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७