आउँदो वर्षको कार्यक्रम पेश गर्न कामपाको निर्देशन


१ जेष्ठ २०८०, सोमबार
kathmandu

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका कार्यक्रम तर्जुमा गरेर जेठ १० गतेभित्र पेश गरिसक्न विभागीय प्रमुखलाई निर्देशन दिएको छ । कामपाको प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले आइतबार विभागीय प्रमुखहरुको बैठकमा चालु आर्थिक वर्षको सिलिङ नबढ्ने गरी, कार्यान्वयन योग्य कार्यक्रम तर्जुमा गर्न विभिगीय प्रमुखहरुलाई निर्देशन दिएका हुन् ।

‘महानगर गौरवका योजना के हुन सक्छन् ? सोच र परिकल्पना पत्र निर्माण गर्नुहोस्’, अधिकारीले भने, ‘हामीले महानगर कस्तो बनाउन चाहेका छौँ । कार्यक्रमबाट देखिनु पर्छ । यी कार्यक्रम नागरिकसँग जोडिने खालका हुनुपर्छ । कार्यान्वयन योग्य हुनुपर्छ ।’ आर्थिक वर्ष २०८०/८१ अधुरा योजना पूरा गर्ने वर्ष हुने र त्यसपछि कुनै पनि अधुरा योजना बाँकी नरहने गरी कार्यक्रम तर्जुमा गर्न पनि बैठकमा उनले जोड दिए ।

त्यसैगरी, कामपाका विभागहरु काठमाडौं प्लाजामा सार्ने विषयले बैठकमा लामो समय लिएको थियो । अहिलेसम्ममा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र सचिवालय, प्रशासन विभाग, सामाजिक विकास विभाग, स्वास्थ्य विभाग, कानुन तथा मानव अधिकार विभाग, विपद् व्यवस्थापन विभाग, वातावरण व्यवस्थापन विभाग, आन्तरिक लेखापरीक्षण एकाइ, खरिद एकाइ प्लाजामा सरिसकेका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय आगामी जेठ ३ गतेभित्र, सहकारी विभाग जेठ ६ गतेभित्र, सहरी व्यवस्थापन विभाग जेठ ८ गतेभित्र प्लाजामा सरिसक्ने योजना कामपाको छ । कार्यालय सार्ने निहुँमा कुनै पनि सेवा रोकिनुहुन्न । सेवामा कोही पनि सेवाग्राहीले दुःख पाउनु हुँदैन । बैठकमा प्रमुख प्रशासकीय अधिकृत अधिकारीले, प्लाजामा सहयोग कक्ष स्थापना गरेर सेवाग्राहीले सूचना दिने र सहयोग उपलब्ध गराउने बताए । सहायता कक्षबाटसम्बन्धी जानकारी र सहयोग प्राप्त हुनेछ ।

प्लाजाको बाहिर सेतो पृष्ठभूमिमा रातो अक्षरले महानगरपालिका लेखेको बोर्ड राखिसकिएको छ । भित्र विभागहरुको सङ्केतका लागि हरियो पृष्ठभूमिमा सेतो अक्षरले नाम लेखिनेछ । हरेक तलामा कुन कुन विभाग नाम लेखिनेछ । यही वैशाखदेखि नै कामपाको १४ वटै विभागले काठमाडौं प्लाजाबाट सेवा दिने भने पनि यस अघि रहेका केही कार्यलयहरु अयन्त्र नसरेकाले समस्या भएको कामपाको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७