काभा महिला भलिबल : नेपालको विजयी सुरुवात, किर्गिस्तानलाई सोझो सेटमा हरायो

प्रधानमन्त्रीले दिए खेलाडीहरुलाई शुभकामना


८ जेष्ठ २०८०, सोमबार
Kava Vollyball 1 scaled

काठमाडौँ । एनएससी काभा महिला भलिबल च्यालेञ्ज कपमा नेपालले कीर्गिस्तानलाई हराएर सुखद सुरुवात गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हल त्रिपुरेश्वरमा भएको खेलमा नेपाल ३–० को सोझो सेटमा विजयी भयो । नेपालले पहिलो सेट २५–११ ले, दोस्रो सेट २५–१९ ले र तेस्रो सेट २५–११ ले जित्यो ।

Kava Vollyball 2

एसियाको मध्यमस्तरको प्रतियोगिता जित्ने अवसरका रुपमा प्रतियोगितालाई लिइएको छ । आजै भएको पहिलो खेलमा उज्वेकिस्तानले श्रीलङ्कालाई २७–२५, २५–२० र २५–१४ को सेटमा हरायो ।

यस्तै, दोस्रो खेलमा भारतले बङ्लादेशलाई ३–० को सोझो सेटमा हरायो । भारतले बङ्लादेशमाथि २५–३, २५–९ र २५–६ को सहज जित निकाल्यो । आजै बेलुका ७ बजे माल्दिभ्स र काजकिस्तानले खेल्नेछन् । प्रतियोगितामा मध्य एसियाका ८ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । समूह ’ए’ मा घरेलु टोली नेपालसहित भारत बङ्लादेश र किर्गिस्तान छन् । त्यस्तै, समूह ’बी’ मा श्रीलङ्का, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान छन् ।

Kava Vollyball 3

नेपालले भोलि बंगलादेशसँग र पर्सि १० गते भारतसँग खेल्नेछ । राउन्ड रोबिन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा पुग्ने छन् । प्रतियोगिता आउँदो १४ गतेसम्म चल्ने छ । नेपालले यसअघि पुरुषतर्फको सेन्ट्रल एसियन जोन भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो ।

प्रधानमन्त्रीद्वारा महिला भलिबल प्रतियोगिताको उद्घाटन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपको उद्घाटन गरेका हुन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले प्रतियोगिताको सफलताको कामना गरे । उनले आफू प्रधानमन्त्री भएको दोस्रो कार्यकालमा भलिबल खेललाई राष्ट्रिय खेलकुदका रुपमा घोषणा गरेको स्मरण समेत गरे । उनले भने, ‘भलिबललाई राष्ट्रिय खेलका रुपमा घोषणा गर्ने मौका मैले नै प्राप्त गरेको थिएँ, आज ६ वर्षपछि आफ्नो तेस्रो कार्यकालमा फेरि महिला भलिबल प्रतियोगिताको उद्घाटन गर्न पाउँदा धेरै खुसी र गर्व महसुस गरेको छु ।’

प्रधानमन्त्री दाहालले आयोजक टोलीलाई बधाई दिँदै सहभागी राष्ट्रको नेपाल बसाइ सुखद र सफल रहोस् भन्ने शुभकामना समेत प्रदान गरे ।  

प्रतियोगितामा नेपालसहित, भारत, बङ्गलादेश, माल्दिभ्स, श्रीलङ्का, कीर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तान गरी आठ राष्ट्रको सहभागिता रहेको छ । सहभागी टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । जसमा समूह ‘ए’ नेपाल, भारत, बङ्गलादेश र कीर्गिस्तान छन् भने समूह ‘बी’मा श्रीलङ्का, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन् । उक्त प्रतियोगिता यही जेठ १४ गतेसम्म चल्ने छ । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७