मैले पशुपतिलाई रकम दिने हो, सुन हो कि पित्तल ट्वाक–ट्वाक पार्न जाने होइन : ओली


१२ जेष्ठ २०८०, शुक्रबार
kp oli 6

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदको मर्यादाविपरीत आफूविरुद्ध आरोप लगाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा उनले माओवादी सांसदले मर्यादाहीन आरोप लगाएको बताए ।

उनले जँड्याहाले पनि त्यस्तो कुरा नबोल्ने भन्दै आरोप पुष्टि गर्न चेतावनी दिए । ‘आज संसद अरुवद्ध भयो । हुन पनि पर्छ । माओवादी सांसदले रोस्टममा बोल्दा कोभिडको औषधिमा दुई अर्ब केपी ओलीले खायो, कहाँ गयो त्यो ? भनेर आरोप लगाउनु भयो । पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको जलहरी चढाएर भ्रस्टाचार ग¥यो भनेर बोल्यो । यस्तो बकवास आरोप । एउटा जँड्याहाले रक्सीको तालमा हिँड्दा पनि त्यस्तो कुरा बोल्दैन,’ उनले भने ।

उनले माओवादी सांसदको आरोप आधारहीन, असत्य र जनतालाई भ्रम पार्ने खालको रहेको प्रष्ट पारे । ‘संसद जस्तो गरिमामय ठाउँमा त्यस्तो बकवास । दुई अर्ब औषधिको खायो रे । त्यसको पुष्टि हुन पर्‍यो त । पुष्टि हुने सम्भावना त छैन,’ उनले भने ।
उनले आफू जिन्दगीभरि भ्रष्टाचारविरुद्धको अभियान चलाएर आएको बताए । यस्ता आरोप लगाउनेहरू देशद्रोही भएको उनको भनाइ छ । ‘यो त इमानका शत्रुहरूले गर्ने कुरा हो । देशद्रोही तत्वहरूले यो देशमा कोही पनि इमान्दार छैन भनेर स्थापित गर्न खोजेको हो । देशप्रति वितृष्णा जगाउने यो देशद्रोही काम हो,’ उनले भने ।

उनले आफूले पशुपतिलाई रकम निकासा गरेको र सुन हो कि पित्तल भनेर हेर्न नगएको प्रस्ट्याए । ‘मैले त पशुपतिलाई रकम दिने हो । पशुपतिमा रकम दिएपछि सुन हो कि पित्तलको हो मैले ट्वाक–ट्वाक पार्न गएको थिएँ त्यहाँ ?,’ उनले प्रश्न गरे ।
अध्यक्ष ओलीले सेना बसेर ती चिजको निर्माण गरेको भन्दै माओवादी सांसदलाई अनुत्तरदायी मात्र होइन, गैरजिम्मेवारको हद भएको बताए । ‘यस्ता यस्ता मान्छे संसदमा पुगेका छन् नि कुनै सामाजिक मर्यादा पनि नबुझ्ने। दुःखको कुरा हो, डेमोक्रेसीमा जस्तो समाज हुनपर्ने हो त्यस्तो छैन,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७