स्पाइनी ब्याबलर चलचित्र महोत्सव : प्रदीप र नम्रता उत्कृष्ट


२५ जेष्ठ २०८०, बिहीबार
pradeep khadka

काठमाडौं । स्पाइनी मुभिज प्रालिको आयोजनामा काठमाडौं जमलस्थित नाचघरमा बुधबार आयोजित एक समारोहका बीच ‘स्पाइनी ब्याबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२३’ सम्पन्न भएको छ ।

महोत्सवमा राष्ट्रिय विधामा १४ र अन्तर्राष्ट्रिय विधामा चारसहित १८ विधामा सर्वोत्कृष्ट घोषित भएर विजेता बनेकालाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले प्रमाणपत्र प्रदान गरे । उनले पछिल्लो समय चलचित्रकर्मीद्वारा बजेट विनियोजनको विषयमा देखिएको असन्तुष्टिलाई सुन्दै चलचित्र क्षेत्रमा देखिएको समस्यालाई सरकारसम्म पुर्‍याउन पुलको काम गर्ने बताए ।

‘म तपाईहरुकै सेवक हुँ । त्यसैले आफ्नो समस्या निर्धक्कसँग मलाई भन्नुस्, खबरदारी गर्नुस्’, मन्त्री लिम्बूले भने, ‘हामी भिन्न क्षेत्रमा रहेता पनि उद्देश्य एउटै छ । देशलाई समृद्ध बनाउन, सुशासन कायम गर्न हामी काम गरिरहेका छौँ ।’ महोत्सवमा राष्ट्रिय विधातर्फ निर्देशकमा दिनेश राउत (प्रकाश), अभिनेतामा प्रदीप खड्का (प्रकाश), अभिनेत्रीमा नम्रता सापकोटा (डेसान), लेखनमा विकाश सुवेदी (प्रकाश) ले अवार्ड जिते ।

यस्तै, छोटो चलचित्रतर्फ चलचित्रमा तिर्खा, निर्देशकमा ज्ञानेन्द्र कोइराला (किड्न्याप), लेखकमा सिर्जना कार्की (दुखी बुहारी), छायाँकारमा ज्ञानेन्द्र खतिवडा (अहम प्रेम) ले अवार्ड जिते । नेपाल भाषाको चलचित्रतर्फ निर्देशकमा दर्शनवीर शाक्य (इन्द्रायणी) ले अवार्ड जिते ।

समारोहमा अन्तर्राष्ट्रिय विधातर्फ उत्कृष्ट वृत्तचित्र डुक बक्स इलिङ्टन (आयरल्याण्ड), उत्कृष्ट चलचित्र द रोड (भारत), उत्कृष्ट कथा फोर्स (इरान), उत्कृष्ट छायाँकार द लाइट बल्व (भेनेजुएला) र उत्कृष्ट निर्देशक फिडलस्ट्रिक (इजिप्ट) बाट एजिडिन एफडेल हेडी घोषणा गरियो । महोत्सवका निर्देशक माधव खरेलले विदेशी सहभागी चलचित्रमध्येका विजेतालाई अनलाइनकै माध्यमले जानकारी गराएको बताए ।

‘हामी तेस्रो संस्करणमा आइपुग्दा झनै बृहत्रुपमा अगाडि बढिरहेका छौँ । स्वदेशी चलचित्र विदेशीभन्दा कुनै हिसाबले कम छैनन् । हामीमा देखिएको चलचित्रप्रतिको चेतनाले हामीलाई अब्बल सावित गरिरहेको छ’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७