उखरमाउलो गर्मी : कहाँको तापक्रम कति पुग्यो ?

गर्मीका कारण धमाधम विद्यालयहरु बन्द


२६ जेष्ठ २०८०, शुक्रबार
Garmi photo 1 scaled 1

काठमाडौं । केही दिनदेखि भइरहेको उखरमाउलो गर्मी तत्काल घट्ने सम्भावना नरहेको मौसमविदले जनाएका छन् । मौसमविद् रोजन लामिछानेका अनुसार तत्काल ठूलो वर्षाको सम्भावना नरहेकाले अझै चार/पाँच दिन गर्मी यस्तै रहने छ ।

तराईका धेरैजसो जिल्लामा चार/पाँच दिन नै तातो हावा ‘लू’ चल्ने अनुमान छ । पहाडी केही जिल्लामा पनि ठूलो पानी पर्ने सम्भावना नरहेको तर एक/दुई ठाउँमा भने फाट्टफुट्ट पानी पर्न सक्ने उनले जानकारी दिए । फाट्टफुट्ट वर्षाले तत्काललाई केही शीतल दिए पनि तापक्रम नघट्ने भएकाले गर्मी फेरि उस्तै हुने मौसमविद् लामिछानेले बताए । यसपालि मनसुन पनि ढिलो गरी भित्रिने सम्भावना रहेकाले गर्मीको अवधि लम्बिने उनको भनाइ छ ।

तराईका धेरैजसो ठाउँमा लगातार एक हप्तादेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस छ । कतिपय ठाउँमा अधिकतम तापक्रम ४० डिग्री नकटे पनि न्यूनतम तापक्रम र तातो हावा चल्दा उखरमाउलो गर्मी छ । महाशाखाको विवरणअनुसार बिहीबार सबैभन्दा बढी तापक्रम बारा जिल्लाको सिमरामा ४२.६ डिग्री सेल्सियस पुगेको छ । यसपछि क्रमशः भैरहवा र जनकपुरमा समान ४२.४, नेपालगन्जमा ४१.८, विराटनगरमा ४१.५ र धनगढीमा ४०.५ डिग्री सेल्सियस छ। बिहीबार काठमाडौं उपत्यकाको अधिकत तापक्रम समेत ३२.८ डिग्री सेल्सियस पुगेको महाशाखाको विवरणमा उल्लेख छ । आज बिहान पौने ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम समेत २० डिग्रीमा उक्लिएको छ ।

te 7G55vYKuO1

यस्तो अवस्था अझै केही दिन रहने भएकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । यस्तै, गर्मी बढेसँगै बिरामी हुनेको संख्या पनि बढ्न थालेको छ । काठमाडौ उपत्यकासहित देशभरका अस्पतालमा झाडापखाला, झाडाबान्ता, ज्वरो, टाइफाइट, रुघाखोकीका बिरामी बढेका छन् । गर्मीका कारण धेरैजसोलाई टाउको दुख्ने समस्या देखिएको डाक्टरले बताएका छन् ।

गर्मीमा खानेकुरा छिट्टै बिग्रने भएकाले खानपानमा ध्यान दिन पनि डाक्टरको सुझाव छ । गर्मीका बेला प्रशस्त शुद्ध पानी पिउन, बासी खानेकुरा नखान, सकेसम्म घाममा नहिँड्न, हिँड्नै परे छाता ओड्न, छहारी तथा शीतल ठाउँमा बस्न, पातलो कपडा लगाउन जनस्वास्थ्यविद् डाक्टर बाबुराम मरासिनीको सुझाव छ ।
गर्मीका कारण धमाधम विद्यालयहरु बन्द
दाङमा गर्मीका कारण विद्यालय बन्द गरिएको छ । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती र गढवा गाउँपालिकामा विद्यालय बन्द गरिएको हो ।

तुलसीपुर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा आजदेखि जेठ ३० गतेसम्म गर्मी बिदा दिइएको छ । गर्मीका कारण पठनपाठनमा समस्या हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने भएकाले आजदेखि जेठ ३० गतेसम्म विद्यालयहरूमा गर्मी बिदा दिइएको हो ।

तुलसीपुर शिक्षा समितिले सामुदायिक र संस्थागत विद्यालयलाई तोकिएको मितिसम्म विद्यालय बन्द गर्न निर्देशन समेत दिएको छ । घोराही क्षेत्रमा भने घोराही नगर प्याब्सनले आजदेखि जेठ ३१ गतेसम्म संस्थागत विद्यालयमा गर्मी बिदा गरेको छ । घोराही नगर प्याब्सनले एक विज्ञप्ति जारी गरी जेठ ३१ गतेसम्म विद्यालयमा पठनपाठन स्थगित गरेको जानकारी दिएको हो ।
गर्मी नघटेपछि उदयपुरका विद्यालयमा थप बिदा
अत्यधिक गर्मीका कारण बिदा गरिएका उदयपुरका विद्यालय अझै केही दिन सञ्चालन नहुने भएका छन् । गर्मी घट्नुको साटो झनझन् बढ्दै गएकाले उदयपुरका विद्यालय थप केही दिन बिदा दिइएको छ ।

साता दिनयता अत्यधिक गर्मी बढेपछि पठनपाठन गर्न गराउन नसक्ने भन्दै स्थानीय सरकारहरूले सामुदायिक तथा संस्थागत विद्यालयमा २ दिन बिदा दिने निर्णय गरेका थिए । तर, अझै गर्मी कम नभएको भन्दै सदरमुकाम त्रियुगालगायत जिल्लाका ३ स्थानीय तहले थप बिदा दिने निर्णय गरेका छन्। अत्यधिक गर्मी बढेर बालबालिका कक्षाकोठामा बस्नै नसक्ने अवस्था भएपछि त्रियुगा नगरपालिका, चौदण्डीगढी र बेलका नगरले सामुदायिक तथा संस्थागत विद्यालय जेठ २१ देखि २३ गतेसम्म बिदा दिएका थिए ।

तर २४ गतेदेखि थप गर्मी बढेको भन्दै शुक्रबारसम्मका लागि बिदा थपिएको त्रियुगा नगरपालिका शिक्षा शाखा अधिकृत शिवकुमारी राउतले बताएकी छिन् । राउतद्वारा जारी सूचनामा अत्यधिक गर्मीका कारण बालबालिकालाई पठनपाठन गर्न कठिनाइ हुने भएकाले सुरुमा २ दिन गर्मी बिदा दिने निर्णय गरिएकोमा थप गर्मी बढ्दै गएको हुनाले शुक्रबारसम्म बिदा थपिएको उल्लेख छ । नगरपालिकाले विद्यालयहरूलाई आउँदो साउन भदौमा दिइने बर्खे बिदासँग समायोजन गर्नेगरी अहिले नै बिदा दिन आग्रह गरेको राउतले बताइन् । उता चौदण्डीगढी र बेलका नगरपालिकाले पनि छुट्टाछु्ट्टै सूचना जारी गरी गर्मी बिदा दिएका छन् ।

गर्मीका कारण सबभन्दा बढी विद्यालय प्रभावित भएका छन् भने निर्माण क्षेत्र पनि उत्तिकै प्रभावित छ । खासगरी ज्याला मजदुरी गरिखाने मजदुर र खेतबारीमा कम गर्ने किसान गर्मीबाट प्रभावित भएका छन् । त्रियुगा नगरपालिकाका १४, १५ र १६ पहाडी वडाबाहेक अन्य वडा तराई र भित्री मधेसमा पर्छन् । त्यस्तै चौदण्डीगढी र बेलका नगरका केही वडाबाहेक सबै खोंच र भित्री मधेसमा छन् भने कटारी नगरपालिकाका १ देखि ८ सम्म खोंच तथा भित्री मधेसमा छन्। ९, १०, ११, १२, १३ र १४ नम्बर पहाडी भेगमा परे पनि सुनकोसी नदीकिनार आसपासका बेंसी क्षेत्रमा उत्तिकै गर्मी बढेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७