सरकारको निर्णयविरुद्ध उपप्राध्यापक चलाउने सर्वोच्चमा


६ असार २०८०, बुधबार
Prem Chalaune

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउने आफूमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत गएका छन् ।

उपप्राध्यापक चलाउने सरकारको निर्णय बदर गर्न माग गर्दै रिट लिएर सर्वोच्च पुगेका हुन् । जेठ ३० गते मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नेविसंघका कार्यकर्ता विरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । चलाउने माथि आक्रमण गरेको आरोपमा नेपाल विद्यार्थी संघका हरि आचार्य, योगेन्द्र रावल लगायत विरुद्ध जिल्ला अदालत, काठमाडौंमा ज्यानमुद्दा विचाराधीन छ ।

आचार्यसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा दायर भएको थियो । मुद्दाको अन्तिम सुनुवाइ मंगलबारका लागि तोकिएको थियो । समाजशास्त्रका उपप्राध्यापक चलाउने माथि २०७७ असोज २० गते नेविसंघका कार्यकर्ताले सांघातिक आक्रमण गरेका थिए । त्रिवि नेविसंघ अध्यक्ष हरि आचार्यको समूहले चलाउने माथि आक्रमण गरेको थियो ।

हमलामा रूपेश साह, निरज रानामगर, सयुस भनिने सयुज श्रेष्ठ र दीपकराज ओझा संलग्न थिए । विश्वविद्यालय परिसरमै आक्रमण भएको थियो । उनलाई बाँसका भाटाले टाउको, शरीर, हात, खट्टामा निर्ममतापूर्वक प्रहार गरिएको थियो । घटनामा उनको खुट्टा, ढाड, करङ र टाउकोमा गम्भीर चोट लागेको थियो ।

करिब ६ महिनाको उपचारपछि मात्रै उनी नियमित काममा फर्किन सकेका थिए । आक्रमणबाट अचेत बनेका उनले एक महीना अस्पतालको शय्यामा बस्नुपरेको थियो भने भाँचिएको खुट्टा चार वटा ‘स्क्रु’ ले जोडिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७