वेस्ट इन्डिजसँग नेपाल एक सय एक रनले पराजित


७ असार २०८०, बिहीबार
nepali cricket team 9D95MhZbFF


काटठमाडौं । नेपाल आइसिसी विश्वकप छनोटमा दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग पराजित भएको छ । जितको लागि ३ सय ४० रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभर खेल्दै २ सय ३८ रनमा अल आउट भएको हो ।

रनको हिसाबमा नेपालको यो सबैभन्दा ठूलो हार हो । वेस्ट इन्डिजको यो लगातार दोस्रो विजय हो । टोलीले पहिलो खेलमा अमेरिकालाई ३९ रनले पराजित गरेको थियो । नेपालको तीन खेलमा यो दोस्रो हार हो । यद्यपि शनिबार हुने खेलमा नेदरल्यान्ड्सलाई पराजित गरे नेपालको सुपर लिगमा प्रवेश गर्ने सम्भावना बलियो हुनेछ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । त्यसपछिको खेलमा अमेरिकामाथि नेपालले ६ विकेटको विजय हात पारेको थियो ।

नेपालका लागि आरिफ शेखले ९३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ६३ रन बनाए । त्यो रन जितको लागि पर्याप्त हुन सकेन । गुलशन झा ५८ बलमा ५ चौका र १ छक्कासहित ४२ रनमा आउट भए । नेपालका करण केसीले २७ बलमा ४ चौका र १ छक्कासहित २८ रन बनाए । नेपालका ब्याटर वेस्ट इन्डिजको बाउन्सर सामु धेरै समय क्रिजमा टिक्न सकेनन् ।

त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३९ रन बनाएको थियो । वेस्ट इन्डिजको जितमा कप्तान शाई होपले १ सय २९ बलमा १० चौका र ३ छक्कासहित १ सय ३२ रनको कप्तानी इनिङ खेले ।

त्यस्तै निकोलस पुरन ९४ बलमा १० चौका र ४ छक्कासहित १ सय १५ रनमा आउट भए । पुरनको यो ओडिआई करिअरको दोस्रो र होपको १५ औं शतक हो ।

बलिङमा ललितले ३ तथा करण, गुल्सन, सन्दीप र दीपेन्द्रले एक–एक विकेट लिए । ललितले १० ओभरमा ५२ रन खर्चिए । सन्दीपले १० ओभरमा १ मेडन राख्दै ५० रन खर्चिए ।

अघिल्लो खेलमा अमेरिकाविरुद्ध प्लेयर अफ द म्याच बनेका करण यसपल्ट महंगो सावित भए । उनले १० ओभरमा १ मेडन राख्दै ८१ रन खर्चिए ।

प्रतियोगिताको समूह ए मा रहेको नेपालले यसअघि नेपालले पहिलो खेल घरेलु टोली जिम्बाव्वेसँग ८ विकेटले गुमाएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो ।

आउने अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने आशा जीवित राख्न नेपालले यो समूहमा शीर्ष तीनभित्र रहेर सुपर सिक्समा पुग्नुपर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७