स्वास्थ्य चौकीमा औषधि अभाव


१५ असार २०८०, शुक्रबार
medicine

मुगु । मुगुको सोरु गाउँपालिकास्थित खनाया स्वास्थ्य चौकीमा औषधिको अभाव देखिएको छ । एक चक्की सिटामोल समेत पाउन मुस्किल पर्ने अवस्था देखिएको अनुगमनका क्रममा भेटिएको हो ।

दैनिक १० देखि २० जनासम्म बिरामी उपचार गर्न स्वास्थ्य चौकीमा आउने गरे पनि औषधि नपाई रित्तै घर फर्किन बाध्य भएको गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले जानकारी दिए । मङ्गलबार दिउँसो अनुगमनको क्रममा खनाया स्वास्थ्य चौकीमा पुग्दा औषधि अभाव भएको देखिएको उनको भनाइ छ ।

‘औषधि अभाव छ, आपूर्ति पनि हुन सकेको छैन । बिरामीलाई कसरी उपचार गरौँ’, अनमी तुल्सा विश्वकर्माले भनिन्, ‘औषधि न पालिकाले दिन्छ न त जिल्ला स्वास्थ्यबाट नै आउँछ ।’ औषधिका लागि जिल्ला स्वास्थ्य कार्यालय र पालिका स्वास्थ्य शाखामा माग गर्दा पनि हालसम्म औषधि नआएको उनले गुनासो गरिन् । ‘स्वास्थ्य चौकीमा ९८ प्रकारका औषिध हुनुपर्नेमा १० प्रकारका पनि औषधि छैनन्’, उनले भनिन् ।

पालिकाले औषधि खरिदमा पर्याप्त बजेट नछुट्याउँदा र जिल्ला स्वास्थ्य कार्यालयले औषधि उपलब्ध नगराउँदा दुर्गम बस्तीका स्वास्थ्य केन्द्रमा औषधिको चरम अभाव हुने गरेको छ । सोरु गाउँपालिकाका स्वास्थ्य संयोजक चरित्र धामीले भने, ‘केही दिनभित्रै जिल्ला स्वास्थ्य कार्यालयबाट आएको औषधि र पालिकाले खरिद गरी अन्य स्वास्थ्य चौकीमा पठाइनेछ ।’

उक्त स्वास्थ्य चौकीमा औषधिका साथै बीपी सेट, थर्मोमिटरलगायत उपकरणको पनि अभाव भएको छ । उक्त स्वास्थ्य चौकीमा हाल सात जना कर्मचारी कार्यरत भए पनि हाल चार जना मात्र उपस्थित हुने गरेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७