तीन राजमार्ग पूर्णरुपमा अवरुद्ध, १३ सडक एकतर्फी सञ्चालनमा

अवस्था बुझेर मात्रै मुग्लिन–नारायणगढ सडक खण्डको यात्रा गर्न आग्रह


२० असार २०८०, बुधबार
Hewakhola
फाइल फोटो

काठमाडौँ । केही दिनदेखिको भारी वर्षाले निम्त्याएको बाढी पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । यसैबीच सडक विभागले तीन राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जनाएको छ । भने १३ वटा राजमार्ग एकतर्फी सञ्चालनमा रहेको जानकारी दिएको छ ।

बिहान ८ः ३० बजेसम्म अपडेट अनुसार ३ वटा राजमार्ग पूर्ण अवरुद्ध, १३ वटा एकतर्फी सञ्चालन र ५७ वटा सडक अवरुद्ध भए पश्चात् हाल सुचारु रहेको सडक विभागले जनाएको छ । विभागको पछिल्लो अध्यावधिक विवरण अनुसार मेची राजमार्ग, तमोर करिडोर र कोशी राजमार्ग अवरुद्ध छन् । विभागका अनुसार केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम गणेशचोक, ताप्लेजुङ–ओलाङचुङगोलासम्म पुग्ने मेची राजमार्ग पूर्ण बन्द छ ।

त्यस्तै पूर्वकै चतरा–मुलघाट–माझीटार–अमपारपुरडाँडा–गणेशचोक पुग्ने तमोर करिडोरअन्तर्गतको माझीटारमा अवरूद्ध हुँदा त्यो सडक पनि सञ्चालनमा छैन । त्यस्तै देशको पूर्वी क्षेत्र रानी–विराटनगर, इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदबारी–नुम–किमाथाङ्का पुग्ने कोशी राजमार्ग पनि पहिरोको कारण अवरुद्ध छ ।

एकतर्फी सन्चालनमा रहेका सडकहरुमा तानसेन–रिडी–कोरला र डुम्रे–बेशीसहर–चामे सडक खण्ड रहेका छन् । यसैगरी सिद्धार्थ राजमार्ग अन्तगर्तको बेलहिया, भैरहवा–बुटवल–वर्तुङ–राम्दी–स्याङ्जा–पोखरा खण्ड पनि एकतर्फी सन्चालनमा रहेको सडक विभागले जनाएको छ ।

कर्णाली राजमार्गको जमुनाहा(नेपालगंज–कोहलपुर–सुर्खेत–खुलालु–हिल्सा सडक पनि एकातर्फी संचालनमा छ । भने डुम्रे–बेशीसहर–चामेको खरखरे भिर, लमजुङमा पनि सडक अवरुद्ध भएको सडक विभागले जनाएको छ । मुग्लिन–नारायणगढ सडक अहिले सञ्चालनमा रहेको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरले मुग्लिन–नारायणगढ सडकखण्डको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ । पहिरोको जोखिम कायमै रहेकाले उक्त सडकखण्डको अवस्था बुझेर मात्रै सो सडक हुँदै यात्रा गर्न सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
यद्यपि, अहिले मुग्लिन–नारायणगढ सडक संचालनमा रहेको छ । ‘पहिरोको जोखिम कायमै रहेकोले सडकको अवस्था बुझेर मात्र सावधानीका साथ सुरक्षित यात्रा गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ’, सडक डिभिजन कार्यालय भरतपुरले भनेको छ । मुग्लिन–नारायणगढ सडक पहिरोका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७