मेची राजमार्ग अवरुद्ध हुँदा पाथीभरा आउने भक्तजन प्रभावित


२२ असार २०८०, शुक्रबार
Hewakhola
फाइल फोटो

ताप्लेजुङ । दुई सातादेखि मेची राजमार्ग अवरुद्धका कारण पाथीभरा आउने भक्तजन प्रभावित भएका छन् । मेची राजर्मागअन्तर्गत पाँचथरको हेवाखोलामा रहेको मोटरेबल पुल पहिरोले बगाएसँगै ताप्लेजुङमा अवस्थित पाथीभरामा आउने भक्तजनको कमी आएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए ।

गत असार ३ गते राति वर्षासँगै गएको बाढीपहिरोले अवरुद्ध भएको मेची राजमार्ग अझै सञ्चालन आउन सकेको छैन । पाँचथर जिल्लाको हेवाखोलामा रहेको मोटरेबल पुल बाढीले बगाएसँगै अहिले ताप्लेजुङसँग अन्य जिल्लाको सडक सञ्जालले विच्छेद भएको छ । विभिन्न जिल्लाका यातायातका साधन ताप्लेजुङ प्रवेश हुन नसकेसँगै पाथीभरा मन्दिर पूजापाठ गर्न आउने भक्तजनको संख्यामा कमी आएको हो ।

विगतमा दैनिक एक हजारको हाराहारीमा आउने भक्तजनको संख्या अहिले एक सयभन्दा कम हुन थालेको महतले बताए । समयमै पुल नबन्दा यात्रुलाई सास्ती खेप्नु परेको छ । ताप्लेजुङ जिल्लाबाट अन्य जिल्ला जानका लागि पाँचथरको हेवाखोलावारीसम्म पुगेर खोलामाथि बनाइएको फड्के पुल तरेर वारि पाँचथर जिल्लाबाट अर्को गाडी चढ्नुपर्ने बाध्यता छ ।

तीन साता भइसक्दा पनि राजमार्ग पुनः सञ्चालनमा आउन सकेको छैन । पुल बाढीले बगाएसँगै ताप्लेजुङ, पाँचथरका हिलिहाङसहित फालेलुङ र याङवरक गाउँपालिकासँग सडक सम्पर्क विच्छेद भएको छ । बाढीले पुल बगाएपछि बनाउन थालिएको बेलिब्रिज अझै सकिएको छैन । बेलिब्रिज बन्न ढिलो हुँदा यो क्षेत्रका बासिन्दाले ठूलो सास्ती खेपिरहेका छन् ।

राजमार्गमा पुल भत्किएपछि सरकारले चासो नदिएको भने होइन । पुल बगाएकै दिन सरकारले तत्काल बेलिब्रिज हाल्ने निर्णय गरेको थियो । त्यही दिन कोशी प्रदेशका मन्त्री, सुरक्षा निकायका प्रदेश प्रमुख जिल्ला आएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफै निरीक्षणमा आउँदा प्रतिकूल मौसमका कारण हेलिकप्टर बस्न सकेन । केही दिन अगाडि मात्र विभागीय प्रमुखहरूसँग भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले स्थलगत अवलोकन गरेका थिए । सरकारले नै निकै चासो राख्दा पनि यत्रो दिनमा राजमार्ग सञ्चालन आउन सकेको छैन ।

अहिले ताप्लेजुङमा खाना पकाउने ग्यास, खाद्यान्नलगायतका सामग्री अभाव भइसकेको ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण थापाले बताए । लामो समय राजर्माग अवरुद्ध हुँदा ताप्लेजुङ जिल्लामा खाद्य वस्तु तथा दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति हुन नसकेको ताप्लेजुङ उद्योग वाणिज्य संघले जानएको छ ।

सरकारले सारा शक्ति लगाएर काम सक्नुपर्ने हो तर १९ दिन बितिसक्दा पनि बेलीब्रिज सञ्चालनमा नआउँदा दैनिक हजारौँको संख्यामा यात्रुहरूलाई सास्ती खेप्नुपरेको छ । छिटोभन्दा छिटो बेलिब्रिज बनाउने प्रयास भइरहेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए ।

उनले भने, ‘बेलिब्रिज बनाउने काम नागरिक अपेक्षाअनुसार केही ढिला भएकै हो । आवश्यक सामग्री समयमै पुर्‍याएका थियौँ । फाउण्डेशन बनाउन नै बाढीले समस्या गरायो, जतिसक्दो छिटो काम सम्पन्न गर्न सबै हिसाबले लागेका छौँ ।’ सडक विभागका अनुसार बढीमा एक हप्तामा काम सकिने गरी निर्माण कार्यमा भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७