३० महिनामा निर्माण सक्नु पर्ने हुलाकी सडक साढे ६ बर्षसम्म अधुरै


२२ असार २०८०, शुक्रबार
hulaki road sadak
फाइल फोटो

कञ्चनपुर । कञ्चनपुरमा ६२ किलोमिटर हुलाकी सडक निर्माणमा निर्माण कम्पनीको बेवास्ताका कारण ठेक्काको पाँचाैं पटक थपिएको म्याद सकिन लाग्दा पनि सडक पूरा हुन सकेको छैन् । ३० महिनामा सक्नुपर्ने हुलाकी सडकको निर्माण कञ्चनपुरमा साढे छ वर्ष बितिसक्दा ६२ मध्ये २३ दशमलव पाँच किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ । कञ्चनपुरको डोके बजारदेखि बेदकोटको दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक २०७३ फागुनमा सम्झौता भएको थियो ।

हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका इन्जिनियर दीपक सुनारले पाँचौँ पटक थप भएको म्याद यही असार मसान्तमा सकिने बताए । उनका अनुसार तीन वटा प्याकेजमा निर्माण गर्न दिइएको सडकको पहिलो प्याकेज (डोके बजारदेखि बेलौरीसम्म) २० किलोमिटर सडक भने सम्पन्न भएको छ ।

उनले विगतमाझैँ म्याद थपका लागि संशोधन भएर नआए दोस्रो र तेस्रो प्याकेजको काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिए । ‘यसअघि माथिबाटै संशोधन भएर आएपछि एक वर्ष म्याद थपिएको हो’, इन्जिनियर सुनारले भने, ‘तर यस पटक कारबाहीकै प्रक्रियामा जाने सम्भावना छ ।’ पहिलो प्याकेजको निर्माण रु ३६ करोड ४७ लाखमा शर्मा–राजेन्द्र जेभीले पाँचाैं पटक थपिएको म्यादभित्र रहेर सम्पन्न गरेको हो ।

त्यसैगरी बेलौरीदेखि बेल्डाडीसम्मको दोस्रो २० किलोमिटर प्याकेजमा साढे नौ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । उक्त कामको जिम्मा रु ४१ करोड ४१ लाखमा बाबा हंस–सिद्धीसाई जेभीले पाए पनि अझै ५० प्रतिशतभन्दा बढी काम गर्न बाँकी छ । सो प्याकेजको पचुँइ क्षेत्रमा भारतीय सुरक्षा निकायले सडक भारतमा पर्ने दाबीसहित केही भागमा कालोपत्रे गर्न दिइएको छैन ।

त्यसैगरी हुलाकी सडकको अन्तिम प्याकेज (बेल्डाडी–दैजी) २२ किलोमिटरमध्ये साढे नौ किलोमिटर सडक मात्रै कालोपत्रे भएको इन्जिनियर सुनारले जानकारी दिए । ‘दोस्रो र तेस्रो प्याकेजको काम सक्ने समय असार मसान्तसम्म तोकिएको छ’, सुनारले भने, ‘ठेक्का सम्झौता भएयता ३८ दशमलव पाँच किलोमिटर सडक कालोपत्रे भएको छ ।’

निर्माण व्यवसायीले सम्झौताअनुसार निर्धारित समयभित्र काम सक्ने गरेको बेवास्ताका कारण ढिलाइ भएको हो । निर्माणाधीन सडकमा पर्ने स्थानीय पालिका र स्थानीयवासीले समयमा निर्माण सक्न पटक–पटक दबाब दिए पनि सुनुवाइ भएन । यहाँको बेलौरी नगरपालिका–८ का वडाध्यक्ष विषराम राना निर्माण कम्पनीको ढिलासुस्तीले सडक नबनेको बताए ।

‘हरेक दिन स्थानीयले सडक निर्माणबारे वडामा आएरभन्दा हामी पनि ठेकेदारलाई ताकेता गर्छौं तर काम गर्दैन’, रानाले भने, ‘सडक बनाउन सामग्री यहाँ थुपारेको भए पनि निर्माणमा भने चासो नदिएको अवस्था छ ।’ उनले पचुँइ गाउँको सडक लामो समयदेखि आफ्नै भूमिमा पर्ने र सोहीअनुसार प्रयोग गरेपनि भारतीय पक्षले एक हजार दुई सय मिटर सडक बनाउन रोकेको बताए । ‘भारतीय पक्षले अवरोध गरेको सडक हेर्न नेतादेखि मन्त्रीसम्म आए तर पहल भएन’, उनले भने, ‘यसका लागि कूटनीतिक पहल आवश्यक छ ।’ उनले सो क्षेत्रमा भारतले पछिल्लो समय बिजुलीका पोल समेत गाड्न नदिएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७