साइकल यात्रीमाथि मुक्का प्रहार गरी बेहोस अवस्थामा सडकमा घिसार्ने भेटवाल पक्राउ

फरार दुई जनाको खोजी गर्दै प्रहरी


२६ असार २०८०, मंगलवार
Attack biratnagar1689061094

मोरङ । मोरङको विराटनगरमा साइकल यात्रीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
असार २० गते राति साढे ८ बजेको समयमा मोरङ विराटनगर–४ दुधफारमस्थित कोशी राजमार्गमा साइकल चालक विराटनगर–६ बस्ने २७ वर्षीय पवन साहलाई कुटपिट गरेको आरोपमा प्रहरीले १९ वर्षीय आयुष भेटुवाल पक्राउ गरेको हो ।

पवनलाई विपरीत दिशाबाट कारमा आएकाहरुले अमानवीय तरिकाबाट कुटपिट गरेको सिसी क्यामेराको भिडियो सार्वजनिक भएको थियो । प्रहरीका अनुसार बा १५ च ३४४५ नम्बरको कारमा सवार आयुषसहित कुशल भेटुवाल र रोशन कार्कीले साहमाथि कुटपिट गरेका हुन् । कारबाट झरेर साहमाथि मुक्का प्रहार गरी बेहोस अवस्थामा घिसारेर घाइते बनाएको उनीहरुमाथि आरोप छ ।

आरोपितमध्ये आयुषलाई पक्राउ गरिएको र दुई जना फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ । उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगमा म्याद थप भई कानुनी कारबाही अगाडि बढाइएको जनाइएको छ । पीडित साहले आफू फ्याक्ट्रीमा काम गरेर साथीसँगै साइकलमा घर फर्कने क्रममा भेटवालले निजी गाडीबाट एक्कासी उत्रिएर मुक्का हानेर बेहोस बनाएको बताए ।

‘म आफ्नै सुरमा साइकलमा फर्कदै थिएँ, नजिकै दौडिएर आई एक्कासी मुक्का प्रहार भएपछि म बेहोस भएर सडकमा पछारिएँ’, साहले भने, ‘अनाहकमा ज्यान मार्ने गरी आक्रमण भयो । मेरो उनीसँग कुनै दुश्मनी पनि थिएन । मलाई ज्यान मार्न खोज्नेलाई ज्यान मुद्दामा कारबाही हुनुपर्छ ।’ बा १५च ३४४५ नम्बरको कारमा सवार भेटवालले साहमाथि आक्रमण गरेको र उनका मतियारहरुको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७