बर्खा लागेपछि भजनीका नागरिक बाढीको त्रासमा


१ श्रावण २०८०, सोमबार
Badhikailali 4

कैलाली । बर्खा लागेपछि कैलालीको भजनीका नागरिकलाई बाढीको त्रासले सताउने गरेको छ । भजनीमा हरेक वर्ष बर्खामा आउने बाढीले हजारौँ नागरिक विस्थापित हुनुका साथै धनजनको क्षति हुने गर्दछ ।

बाढीले भजनीका प्रायः सबै वडा प्रभावित हुन्छन् । बाढीले बढी जोखिममा वडा नं ३ र ८ रहेका छन् । पछिल्ला दुई वर्ष यी दुई वडामा धेरै क्षति भएको छ । भजनीकी सुनितादेवी राजी बर्खा लागेपछि राम्ररी सुत्न सकेकी छैनन् । उनलाई सामान्य वर्षा हुँदा पनि बाढी आउँछ कि भन्ने पिरले सताउँछ । पानी पर्न थालेपछि सुनिताले अत्यावश्यक सामानको पोको पार्न थाल्छिन् ।

गत वर्ष बाढी आउँदा एक वर्षको बच्चासहित विस्थापित भएकी थिइन् । केही दिन स्नेह आश्रयस्थलमा बच्चासहित बसेकी सुनिताको घरखेत सबै बगेपछि साहै्र कठिन भएको थियो । यस वर्ष पनि सुनिता बाढीको त्रासमा छिन् । ‘पोहोर आएको बाढीले घरखेत बगाउँदा सानो बच्चा बोकेर भागेको बिर्सेकी छैन’, उनी भन्छिन्, ‘घर छोडेर एक साता आश्रयस्थलमा बसेका थियौँ, अहिले बच्चा दुई वर्षको भयो । यस वर्ष पनि ठूलो वर्षा भएमा घर जोगिने छैन ।’

सुनिताको घरमा बाढी आउने त्रासले अत्यावश्यक सामान पोको पारेर राखिएका छन् । धेरै वर्षा भएमा सुरक्षित स्थानमा जानुपर्छ भनी उनीहरु पूर्वतयारीमा बस्ने गरेका छन् । ‘गत वर्ष घरका केही सरसामान पनि रहेनन्, हरेक वर्ष जोडेको सामान त्यही पानीमा मिसिन्छ’, उनी गुनासो गर्छिन्, ‘अन्त जाने ठाउँ पनि छैन, बाढीले हरेक वर्ष सबै बगाएर सक्छ ।’

वडा नं ८ का खेमराज जैसी पनि बाढीले अघिल्ला वर्ष आँखैअगाडि मानिस बगेको बिर्सेका छैनन् । बादल गड्गडाउन थालेपछि खेमराजको मन पनि बिचलित हुन्छ । खेमराज र उनका छिमेकी ठूलो वर्षा भएपछि भाग्नुपर्छ भनी पूर्वतयारीमा बस्ने गरेका छन् । ‘जब बादल लाग्छ, आकाश गड्गडाउन थाल्छ, मन निकै बिचलित हुन्छ’, उनी भन्छन्, ‘वर्षा नभए खेतीपाति राम्रो हुन्न तर हामीलाई थाहा छ तर बाढीको त्रासले पानी नै नपरोस् भन्ने लाग्छ ।’

गत वर्षको बाढीले वडा नं ८ का सबै टोलमा क्षति पुगेको थियो । बाढीले वडा नै तहसनहस भएको थियो । ‘बाढी नआएको कुनै वर्ष छैन, कुन वर्ष कति क्षति भयो भन्ने मात्र हो’, उनी भन्छन्, ‘गत वर्ष त धेरै क्षति भयो । बाढीबाट बच्न भागिरहेका मानिस बाढीमै मिसिए, त्यसैले यस वर्ष हामी बढी त्रासमा छौँ ।’

भजनीकी पुष्पा राजी पनि गत वर्ष बाढी आउँदा गर्भवती थिइन् । बाढीले पुष्पाको पनि घरखेत बाढीले बगाएको थियो । बाढीपछि उनी पाँच दिन स्नेह आश्रयस्थलमा गएर बसेकी थिइन् । उनले त्यो बेला भोगेका पीडा भुलेकी छैनन् । अहिले पनि उनलाई बाढी आउँछकी भन्ने त्रासले सताइरहन्छ । ‘गर्भवती थिए, हिँडडुल गर्नै गाह्रो भइरहेका बेला बाढीले घर बगायो, घर छोडेर आश्रयस्थलमा बस्नुपर्‍यो’, पुष्पाले भनिन्, ‘आश्रयस्थलमा त खान, बस्न समस्या भएन, घर फर्केपछि बगेको घर पुनर्निर्माण, खाद्यान्न अभाव जस्ता कुराले सतायो ।’

पुष्पाको बच्चा अहिले आठ महिनाको छ । पुष्पालाई बाढीको डर रातिको समयमा बढी लाग्छ । ‘सुतेको बेला बाढी आएर थाहै नपाइ बगिन्छ कि भन्ने डर लाग्छ’, उनी भन्छिन्, ‘दिउँसो भए त भाग्न सकिन्छ, राति बच्चासहित भाग्न पनि कठिन हुन्छ ।’ भजनीमा वडा नं ८ को कृष्णनगर, काढाढिक, सोनाफाटा, जनकपुर, खैरागोड्चौरा, छच्छरहवा, बहादुरपुर, दैलेखीटोल, भर्खान टोल, कालिका टोल बाढीको जोखिममा रहेका टोल हुन् ।

त्यस्तै वडा नं ३ को बर्दवाफाटा, नयाँबस्ती, ढुसी, पकरिया डाडा, जवलपुर, कन्हैयापुर, कसुमघाट, वडा नं ५ को कौवाखेडा, दुदुवाफाटा, पगियापसार, कर्मदेव, लालबोझी, ७ को चर्रा, हिम्मतपुर, २ को पल्टुपुर, मोहनपुर र कटानपुर, वडा नं ४ र ९ को कुडीमा समेत बाढीले क्षति पुर्‍याउने गरेको छ ।

भजनीमा पथरैया, मोहना, काढा र कन्द्रा नदीले क्षति पुगाउने गरेको छ । नगर प्रमुख केवल चौधरी पूर्वतयारीका कार्य भइरहेका, विपद् व्यवस्थापन समितिसँग छलफल भइरहेको बताउँछन् । ‘सङ्घसंस्थाको सहयोगमा पालिकाले पलियापुरमा १६ परिवारका उच्च घर निर्माण गरिदिएको छ’, नर प्रमुख चौधरी भन्छन्, ‘हरेक वर्ष बाढी आउँछ । सोह्र परिवारलाई ढुक्क भयो । अन्य ठाउँमा बाढी आएपछि भाग्नैपर्छ ।’

भजनीमा बाढीले विस्थापित हुने सयौँ परिवारले हुलाकी सडकको आश्रय लिनुपर्ने बाध्यता छ । बाढी आउँदा केही परिवार उच्च घर, केही विद्यालयमा आश्रय लिन्छन् भने अधिकांशले हुलाकी राजमार्गलाई आश्रयस्थल बनाउँछन् । पालिकाले बाढीबाट बच्न पूर्वतयारी, पूर्वकार्यका कार्य समुदायमा सिकाएको छ । पालिकाले नदी नियन्त्रणको काम गर्न नसक्ने भएकाले पूर्वतयारी, खोज तथा उद्धार, बाढीपछि राहत वितरणज स्ता कार्य गर्दै आएको छ । भजनीमा गत वर्ष आएको बाढीले सात हजार ९६ परिवार विस्थापित भएका थिए । उनीहरु करिब एक महिनापछि घर फर्किएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७