राहदानी बनाउनेको संख्या बढ्यो


२ श्रावण २०८०, मंगलवार
passport

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँबाट विद्युतीय राहदानी बनाउन सिफारिस गर्नेको संख्या आर्थिक वर्ष २०७९/८० मा ह्वात्तै बढेको छ । आर्थिक बर्ष २०७९/८० मा जिल्ला प्रशासन कार्यालयद्वारा २२ हजार ६ सय ७१ जनाको सिफारिस गरिएको छ ।

उक्त संख्या आर्थिक वर्ष २०७८/७९ को भन्दा १३ हजार आठ सय १७ जनाले बढी हो । जिल्ला प्रशासन कार्यालयबाट राहदानी सिफारिस गरिएको यो संख्या हालसम्मकै बढी भएको राहदानी फाँटका खरिदार सुमन थापामगरले जानकारी दिए । आर्थिक वर्ष २०७८/७९ मा कार्यालयबाट राहदानी सिफारिस गरिएको संख्या आठ हजार आठ सय ५४ रहेको थियो भने ६ हजार ६ सय १९ जनालाई राहदानी वितरण गरिएको थियो । विदेश अध्ययन गर्न जाने विद्यार्थी, वैदेशिक रोजगारीमा जाने तथा आफन्त भेट्न विदेश जानेको संख्या ह्वात्तै बढेको थापामगर बताउँछन् ।

आव २०७९/८० को साउनमा एक हजार ८२ महिला र एक हजार चार सय ७८ पुरुष, भदौमा ६ सय ५० महिला र एक हजार एक सय ४६ पुरुष, असोजमा चार सय १८ महिला र सात सय १२ पुरुष, कात्तिकमा चार सय २१ महिला र सात सय ९१ पुरुष, मङ्सिरमा चार सय ८ महिला र सात सय ८८ पुरुष तथा पुसमा छ सय १५ महिला र एक हजार एक सय ५३ पुरुषलाई राहदानीका लागि सिफारिस गरिएको कार्यालयको अभिलेखमा उल्लेख छ ।

यस्तै माघमा ६ सय ५२ महिला र एक हजार एक सय तीन पुरुष, फागुनमा ६ सय ५८ महिला र एक हजार एक सय ८८ पुरुष, चैतमा आठ सय ९५ महिला र एक हजार पाँच सय ३३ पुरुष, वैशाखमा सात सय ६७ महिला र एक हजार दुई सय ६३ पुरुष, जेठमा एक हजार ६३ महिला र एक हजार पाँच सय ६३ पुरुष तथा असारमा सात सय ८३ महिला र एक हजार एक सय ७० पुरुषलाई राहदानीका लागि सिफारिस गरिएको थियो । यस्तै एक सय ९८ नाबालकको सिफारिस गरिएको तथ्याङ्क छ ।

आव २०७९/८० मा राहदानी सिफारिसबाट अघिल्लो आवको भन्दा झण्डै दोब्बर राजस्व सङ्कलन भएको थियो । आव २०७९/८० मा रु आठ करोड ८५ लाख राजस्व सङ्कलन भएको थियो भने आव २०७८/७९ मा रु चार करोड ४२ लाख राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७