महानगरपालिकाको फोहर उठ्न अझै केही दिन लाग्ने


४ श्रावण २०८०, बिहीबार
fohor 1

काठमाडौं । स्थानीय बासिन्दासँग सहमति नहुञ्जेलसम्म काठमाडौँ महानगरपालिकाको फोहर उठ्न नसक्ने महानगरपालिकाले जनाएको छ । महानगरको वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठले स्थानीय जनप्रतिनिधिसहित सहरी विकास मन्त्रालय र सरोकारवाला पक्षसँग सहमतिका लागि छलफल भइरहेको जानकारी दिए ।

‘यही साउन १ गतेदेखि महानगरपालिका फोहर उठेको छैन, अझै चार-पाँच दिनसम्म उठ्ने सम्भावना छैन’, उनले भने, ‘कि मान्छे हटाऊ, कि फोहर हटाऊ भन्ने त्यहाँका स्थानीय बासिन्दाको मुख्य माग रहेको छ । विस्तारै माग थपिँदै जाँदा सहमति जुट्न कठिनाइ भएको हो ।’

फोहर विसर्जनका लागि महानगरपालिका छलफलको प्रक्रियामा रहेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए । ‘स्थानीय बासिन्दाले फोहरकै दुर्गन्धका कारण बस्न कठिनाइ भएको भन्दै अवरोध गरेका छन् । महानगरपालिका यस विषयमा छलफल गरी स्थानीयवासीको मागलाई सम्बोधन गर्ने प्रयास गरिरहेको छ’ उनले भने । राज्यले ऐक्यबद्धता नजनाएसम्म अवरोध नहट्ने स्थानीयवासीको माग रहेको धुनिबेंसी नगरपालिकाका–१ का वडाध्यक्ष मानबहादुर तामाङले बताए । राज्यले स्थानीयवासीलाई कहिलेसम्म समस्या समाधान हुनसक्छ भन्ने यकिन गर्नुपर्ने उनले बताए ।

यस सम्बन्धमा काठमाडौँमा भइरहेको विभिन्न सम्झौतालाई स्थानीय माझमा ल्याई सहमति जनाउनुपर्ने उनको भनाइ थियो । ‘यति समयभित्र समस्या समाधान हुनसक्छ भन्ने ऐक्यबद्धता राज्यले जनाउनुपर्ने स्थानीयवासीको माग छ’, उनले भने, ‘पटक–पटक महानगरपालिकासँग गरिएका सम्झौता के कति पूरा भए भन्नेबारे एकीन हुनुपर्छ । स्थानीयवासीको माग नयाँ होइन, पुरानै हो ।’ रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७