राजमार्गको पहिरोले बस्ती उच्च जोखिममा


६ श्रावण २०८०, शनिबार
pahiro 1
सांकेतिक तस्वीर

बैतडी । जयपृथ्वी राजमार्गमा खसेको पहिराले बैतडीको एक बस्ती नै उच्च जोखिममा परेको छ । बैतडी सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा खसेको पहिराले सडक तलतिर रहेको छिडा बस्ती उच्च जोखिममा परेको हो ।

सडकबाट खसेको पहिरोले १० भन्दा बढी घर जोखिममा रहेको स्थानीय दीपक कुवँरले जानकारी दिए । लगातार सडकबाट पहिरो खस्दा स्थानीयवासीको मकैबारी बगाएको छ भने घरहरू उच्च जोखिममा रहेका छन् । उनले भने, ‘लगातारको वर्षासँगै सडकबाट खसेको पहिराले मकैबालीसहित खेत बगाएको छ । हाम्रो उठीवास हुने अवस्था आएको छ ।’

पहिरोले अहिलेसम्म खेतबारीमा नोक्सानी पुर्‍याइसकेको छ भने बस्ती नै जोखिममा परेपछि स्थानीयवासी त्रसित बनेका छन् । सडक सुधारका लागि नयाँ कटिङ गरेको सबै माटो बगेर खेतबारीमा पुगेको हो । ‘पहिराले हाम्रो बस्ती नै जोखिममा परेको छ । पहिराबाट हुने क्षति कम गर्नका लागि सरकारसँग माग गरेका भए पनि कुनै सुनुवाइ हुन सकेको छैन’, अर्का स्थानीय चक्र कुवँरले भने ।

उनका अनुसार लगातारको वर्षाले लेदोसहितको पहिरो बगिरहने गरेको छ । घरहरू जोखिममा पर्नुका साथै बालबालिकालाई विद्यालय जान र ओहोरदोहोर गर्न समेत समस्या भएको छ । पहिराले बस्ती नै जोखिममा रहेकोबारे जानकारी आएको भए पनि तत्काल केही गर्न नसकिने सुर्नया गाउँपालिकाका अध्यक्ष अमरबहादुर कुवँरले बताए । उनले भने, ‘पहिराले बस्ती जोखिममा रहेकोबारे जानकारी आएको छ, तत्काल हामीले केही पनि गर्न सकिने अवस्था छैन । सडक डिभिजन कार्यालयसँग समन्वय गरेर वर्षा कम भएपछि पहिरो नियन्त्रणका लागि आवश्यक संरचना निर्माण गछौँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७