पाइपबाट पानी ल्याएर घट्ट सञ्चालन


६ श्रावण २०८०, शनिबार
Ghatta nuwakot 2 scaled
फाइल फोटो

रुकुम (पश्चिम) । प्रायजसो पानीघट्ट खोला वा नदी किनारामा हुने गर्छन् । बाँफीकोट गाउँपालिकाको एउटा गाउँमा भने साढे तीन किलोमिटर टाढाबाट पाइपमार्फत पानी ल्याएर गाउँमा घट्ट सञ्चालन गरिएको छ ।

बाँफीकोट–५ माथिल्लो काँडामा तीन किमी टाढाबाट पानी ल्याएर गाउँमा घट्ट सञ्चालन गरिएको हो । ‘गाउँका मान्छेलाई सधैँ घट्टमा पिसानी गर्ने पिरलो हुने गर्दथ्यो, परिवारको एउटा सदस्यले अन्न पिसानी गर्न जाँदा एक दिनकै समय छुट्याउनु पर्ने हाम्रो समस्या थियो’, स्थानीय भक्तबहादुर केसीले भने ।

अब भने दुःखका दिन गएको उनको भनाइ छ । ‘गाउँमै घट्ट निर्माण भएको छ, गाउँमै निर्माण भएको घट्टमा अन्न पिसाउन पाउँदा गाउँले पनि निकै खुशी छन्’, केसीले भने । गाउँमा घट्ट निर्माण नहुँदासम्म माथिल्लो काँडाका मान्छे अन्न पिसानीकै लागि निकै टाढा डार्ने, तिलिचा खोला, खारखोलालगायत ठाउँमा जाने गर्थे ।

उनका अनुसार टाढाको ठाउँमा अन्न पिस्न जाँदा पनि त्यहाँ अन्न पिस्न पालो नै नआउने समस्या पनि उत्तिकै हुन्थ्यो । दिनभरको समय नै छुट्याएर घट्ट जाँदाका दुःखका दिन अहिले पनि संगीता केसीलाई सम्झना आउँछ । प्रदेश सरकारको १५ लाख, मारपूजा सामुदायिक वन उपभोक्ता समितिको दुई लाख र स्थानीयको तीन लाख रूपैयाँ बराबरको लगानीमा गाउँमा घट्ट सञ्चालनका लागि पानी ल्याइएको छ । वडाकै गारकटेरा मुहानबाट गाउँसम्म पाइपमार्फत पानी ल्याइएको स्थानीय ध्रुवराज केसीले बताए ।

घट्ट सञ्चालन गर्ने योजना लामो समयदेखि बनाइए पनि यस वर्ष भने त्यो योजना पूरा भएको उनले बताए। घट्ट निर्माणपछि गाउँका एक सय ६२ घर परिवार लाभान्वित भएका छन् । साथै घट्ट सञ्चालनका लागि ल्याइएको पानीलाई गाउँमा खानेपानीका लागि पनि वितरण गरिएको छ ।

दिनमा घट्ट सञ्चालन गरिसकेपछि रातिको समयमा गाउँमा पानी वितरण गर्ने ट्यांकीमा भण्डारण गर्ने गरिएको छ । त्यही पानी गाउँमा खानका लागि धारामा छाडिन्छ । पाइपबाट आएको पानी पिउन लायक रहेको वडाध्यक्ष मनु शाहीले जानकारी दिए । पानी ठूलो भएका कारण पनि घट्ट चलाउने, सिँचाइ र खानेपानीका लागि उक्त पानीलाई प्रयोग गरिरहेको वडाध्यक्ष शाहीले बताए । काँडामा सधैँजसो पानीको समस्या हुने गर्छ । अब भने यस वर्षदेखि गाउँमा खानेपानीको समस्या नहुने उनले बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७