काठमाडौं विश्वविद्यालय र मधेस विश्व विद्यालयबीच सहकार्य


१० श्रावण २०८०, बुधबार
kt

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय र मधेस विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका दुई विषयमा संयुक्त रुपमा अध्यापन गराउन सहमति गरेका छन् । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र मधेस विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्यले मङ्गलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौताअनुसार स्नातक तहमा जनप्रशासन तथा व्यवस्थापन र स्नातकोत्तर तहमा सङ्घीय शासन तथा जनप्रशासन विषय संयुक्त रुपमा अध्यापन गराइने छ । काठमाडाैं विश्वविद्यालयका उपकुलपति प्राडा थापाले मधेस प्रदेश सरकारद्वारा गत वर्ष स्थापित मधेस विश्वविद्यालयसँगको सहकार्यले मधेस प्रदेशमा उच्च शिक्षाको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । मधेस विश्वविद्यालयका उपकुलपति डा. शाक्यले स्थापनाको पहिलो वर्षमै काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यले आगामी दिनमा मधेस विश्वविद्यालयले गुणस्तरीय शिक्षा दिनका लागि थप प्रेरित गर्ने बताए ।

काठमाडाैं विश्वविद्यालयले यस अघि गण्डकी र लुम्बिनी बौद्ध विश्वविद्यालयसँग पनि संयुक्त रुपमा अध्यापनका लागि सहकार्य गरिसकेको छ । काठमाडाैं विश्वविद्यालय अष्ट्रेलियाको वेष्टर्न सिड्नी विश्वविद्यालय, अमेरिकाको जर्ज मेसन विश्वविद्यालय र भारतको आइआइटी मद्राससँग समेत सहकार्य गरिसकेको छ । सम्झौताअनुसार विद्यार्थीले स्नातकोत्तर तहमा तीन सेमेष्टर भर्ना भएको विश्वविद्यालय र र बाँकी एक सेमेष्टर सम्बन्धित विश्वविद्यालयमा अध्ययन गर्न सक्ने छन् ।

यसका लागि दुवै विश्वविद्यालयले पाठ्यक्रम निर्माणदेखि अन्य विषय आपसी सहमतिमा तय गर्ने सहमति गरेका छन् । यसैगरी विद्यार्थीको प्रमाणपत्रमा दुवै विश्वविद्यालयको छाप रहने र विद्यार्थीले दुवै विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिनुपर्नेछ ।  यसबाट विद्यार्थीले विश्वस्तरीय शिक्षा प्राप्त गर्नाका साथै कम शुल्कमा विदेशी विश्वविद्यालयमा अध्ययन गर्न पाउने काठमाडौँ विश्वविद्यालयको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७