मुग्लिन–नारायणगढसहित सात सडक अवरुद्ध, २१ वटा एकतर्फी चल्दै


१५ श्रावण २०८०, सोमबार
Mugling payjn7hiro 2 scaled
फाइल फोटो

काठमाडौँ । लगातारको वर्षासँगै गएको बाढी–पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । बिहान ९ बजे चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा लेदोसहितको पहिरो खस्दा दुईतर्फी नै सडक ठप्प भएको हो ।

पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कठिन भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । कार्यालयका अनुसार अहिले पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पन्छाउन डेढ दुई घण्टा लाग्ने कार्यालयले जनाएको छ ।

पहिरोका कारण यो सडक खण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ । बाढी पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्डसहित विभिन्न सात सडक अवरुद्ध भएका छन् । सडक विभागका अनुसार सिद्धार्थ राजमार्ग अन्तर्गतको बेलहिया–भैरहवा–बुटवल–वर्तुङ–राम्दी–स्याङ्जा–पोखरा सडक खण्ड अवरुद्ध छ ।

पाल्पाको तिनाउ गाउँपालिका–३ को ड्यामसाइड क्षेत्रमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको हो । गएरातिदेखि खसेको पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

यस्तै, तमोर करिडोर अन्तर्गतको चतरा मूलघाट माँझीटार अमरापुरडाँडा गणेशचोक सडक खण्ड, तानसेन रिडी कोरला सडक, डुम्र बेसीसहर चामेको लमजुङखण्ड तथा डुम्र बेसीसहर चामेको मनाङखण्डमा पहिरोको कारण सडक अवरुद्ध छ । यस्तै, ठोरी भरतपुर मुग्लिन आँबुखैरनी गोरखा घ्याम्पेसाल, आरुघाट सिर्दिवास रोइला भञ्ज्याङ सडक अवरुद्ध छ । यस्तै, २१ वटा सडक एकतर्फी मात्रै सञ्चालन भइरहेका विभागले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७