बैतडीमा ‘लार्भा खोज र नष्ट गर’ अभियान


१७ श्रावण २०८०, बुधबार
dengu
फाइल फोटो

बैतडी । बैतडीमा एक महिलामा डेङ्गु संक्रमण पुष्टि भएको छ । सिगास गाउँपालिका–६ थालाकाँडीका ३४ वर्षीया महिलामा डेङ्गु संक्रमण पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा डेङ्गु संक्रमण देखिएको यो पहिलो घटना हो । ज्वरो आएपछि शिवलिङ्ग स्वास्थ्य चौकीमा उपचारका लागि पुगेकी ती महिलाको रगत परीक्षण गर्दा डेङ्गु संक्रमण पुष्टि भएको उनले बताए । ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गुको संक्रमण फैलिन्छ । आफ्नो वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न र पानी भरेका ड्रम बेलाबेलामा सफा गर्न ध्यान दिन प्रमुख भट्टले आग्रह गरे ।

डेङ्गु भएमा उच्च ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, खान मन नलाग्ने, शरीरमा बिमिरा आउनेलगायत लक्षण देखन्छन् । यस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा गएर जाँच गराउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

बैतडीसहित सुदूरपश्चिम प्रदेशमा सन् २०२३ को हालसम्म तीन सय २५ जनामा डेङ्गुको संक्रमण पुष्टि भएको छ । डेङ्गु रोकथाम तथा नियन्त्रणका लागि आजदेखि ‘लार्भा खोज र नष्ट गर’ अभियान थालिएको छ  । डेङ्गु रोकथाम तथा नियन्त्रणका लागि सदरमुकाम गढी, गोठलापानी, शाहिलेक क्षेत्रमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, नागरिक समाज तथा स्थानीयवासी खटिएका कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७