सुशासनको प्रत्याभूति दिन नसके सरकार धेरै दिन टिक्दैन : डा. शेखर कोइराला


२७ श्रावण २०८०, शनिबार
shekhar1639469324
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति दिन नसके वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने दाबी गरेका छन् ।

नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ ले आज (शनिवार) भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपालमा वैदेशिक लगानी भित्र्याउन पनि भ्रष्टाचार अन्त्य हुनुपर्ने बताए । उनले अमेरिकाको पछिल्लो वैदेशिक नीतिमा पनि नेपालमा लगानीका लागि भ्रष्टाचार र सुशासन मुख्य समस्या रहेको औंल्याइएको उल्लेख गर्दै त्यसलाई कम गर्न सत्तारुढ गठबन्धन र सरकारले जोड दिनुपर्ने बताए ।

उनले भने, ‘भ्रष्टाचार र सुशासन यो हामीहरुले आजैदेखि हामीहरुले, यो सरकारले दिन सकेन भने सरकार धेरै दिन टिक्न सक्दैन भन्ने कुरा पनि तपाईंहरुको माझमा राख्न चाहन्छु । यो अत्यन्त गम्भिर विषय छ । अमेरिकाले अहिले आफ्नो इन्भेष्मेण्ट पोलिसी बनाएको छ । नेपालमा प्रचुर सम्भावना छ भन्छ । फरेन डाईरेक्न इन्भेष्मेण्टको नेपालमा प्रचुर सम्भावना छ भन्छ । तर के भन्छ सँगसँगै भने–त्यो सबैभन्दा भ्रष्टाचार हुने मुलुक हो भन्छ । दोस्रो कुरा, के भन्छ भने राजनीतिक अस्थिरता छ भनेर भन्छ । यो एक हप्ता पहिलेको रिपोर्ट हो यो । तेस्रो, रिपोर्ट के भन्छ भने इन्कन्फिडेन्ट ब्युरोक्रेसी भन्छ । चौथोले के भन्छ भने कानून यदी लचक बनाउँछौं हामी त्यसमा कामै गर्न सकिँदैन भनेर भनिराखेको छ । यो चार वटा कुरालाई हामीहरुले सम्बोधन गर्नसक्यौं भने नेपालको भविष्य उज्ज्वल छ । समृद्ध नेपाल, समुन्नत नेपाल हामी बनाउन सक्छौं ।’

नेता कोइरालाले पार्टीको भातृ संस्थाहरु तरुण दल, नेविसंघ र नेपाल महिला संघको नेतृत्व विधि र विधान अनुसार चल्न नसकेको भन्दै आक्रोश समेत व्यक्त गरे । उनले पार्टी भित्रै प्रतिशोधको राजनीति हुन नहुने समेत बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७